• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिरहाको परीक्षा केन्द्रमा म्यासेन्जर र भाइबरबाट चीट

सिरहाको परीक्षा केन्द्रमा म्यासेन्जर र भाइबरबाट चीट

राम नारायण पंडित, सिरहा, २३ चैत्र । सिरहाको एसएलसी परीक्षामा भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकहरुले चीट चोराउने गरेको रहस्य खुलेको छ ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका निरीक्षकहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको हो । उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चीट गर्नकालागि पठाउने गरिएको छ ।
एसएलसी परीक्षाको पहिलो दिन देखि नै सिरहाको अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने गरिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा सदरमुकामका साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा, बन्दिपुर, फुलबरीया, बर्छबालगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चीट चोराउने गरिएको श्रोतको दाबी रहेको छ ।
सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र बनाई गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जी गार्ड फेला परे पनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको छैन् । परिक्षामा एउटा बेञ्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ ।
यति मात्र नभई सिट जहाँ भए पनि परिक्षार्थीहरु आफुखुसी परीक्षा हलमा बसेको पाईएको छ । परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जी गार्ड नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र परीक्षार्थी परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ ।
यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताए । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी भएका छन् ।