राजविराज, ४ चैत्र । आगामी चैत्र १८ गतेदेखि सञ्चालन हुन लागेको एसएलसी परीक्षाकालागि सप्तरी जिल्लामा ४१ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले विहीवार सार्वजनिक गरेको परीक्षा केन्द्रको सूचना अनुसार जिल्लाका सामुदायिक तथा निजी गरी १ सय १३ ओटा विद्यालयकालागि ४१ ओटा परीक्षा केन्द्र तोकिएको छ । गत–विगतका वर्षहरुमा गरिने परीक्षा केन्द्रको परिपाटीलाई व्यापक फेरबदल गर्दै नयाँ परीक्षा केन्द्रहरु समेत थपिएको छ भने सदरमुकाम राजविराजका चर्चित विद्यालयहरुलाई सदरमुकाम बाहिर परीक्षा केन्द्र तोकिएको छ । 
विहान ८ बजेदेखि सञ्चालन हुन लागेको एसएलसी परीक्षामा कुल ११३ विद्यालयबाट नियमित र एक्जाम्पटेड समेत गरी १५ हजार ८ सय ५४ जना सहभागी हुन लागेको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार नियमिततर्फ ९ हजार १ सय २४ जना परीक्षार्थी सहभागी हुन लागेका छन् । यसैगरी एक्जाम्पटेडतर्फ ६ हजार ७ सय ३० जना परीक्षामा सहभागी हुन लागेको छ ।
आगामी चैत १८ गतेदेखि सञ्चालन हुन लागेको एसएलसी २९ गतेसम्म हुने जनाइएएको छ । प्राप्त जानकारी अनुसार १८ गते अनिवार्य अंग्रेजी, १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित, २२ गते विज्ञान, २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुने जनाइएको छ ।
