बीरगञ्ज, २३ फागुन । आर्थिक अभावमा मधेस आन्दोलनका गम्भिर घाइते पर्साको बगही निवासी मन्सी पटेलको उपचारमा समस्या भएको छ ।
जारी मधेस आन्दोलनको क्रममा पटेललाई असोज ३ गते अर्थात नेपालमा सविधान जारी भएकै दिन प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा उनलाई गोली लागेको थियो । गोली लागेपछि उनलाई बीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट काठमाण्डौ रेफर गरिएको थियो । अहिले काठमाण्डौबाट पुनः पटेललाई बीरगञ्ज रेफर गरिएको छ ।
आर्थिक अभावका कारण नेपाल बाहिर सुविधासम्पन्न अस्पतालमा उपचार गराउन सक्ने अवस्था नरहेको जनाईएको छ । यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर नारायणी उपक्षेत्रिय अस्पतालमा गई आन्दोलनका घाइते पटेलसँग भेंटघाट गर्नुको साथै नगद रु ५ हजार समेत सहयोग गरेका छन् ।
जवाफमा मधेस आन्दोलन घाइते पटेलले तमलोपा अध्यक्ष मोर्चा संयोजक ठाकुरलाई पैसा भन्दा पनि उचित उपचारको व्यवस्थापन गरि दिनहुन आग्रह गर्दै जारी मधेस आन्दोलनका शहीद एवं घाइतेको त्याग र समर्पणलाई खेर जान नदिन ध्यानाकर्षण गराएका छन् ।