• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उत्पीडितहरु आफ्नो अधिकारकालागि लड्ने समय आएको छः चौधरी

उत्पीडितहरु आफ्नो अधिकारकालागि लड्ने समय आएको छः चौधरी

बिरेन्द्र बजार, २२ फागुन । संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बिनोद चौधरीले अधिकार प्राप्तिकोलागि एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन ।
संघिय समाजबादी फोरम नेपाल शम्भुनाथ नगर समितीद्धारा सप्तरीको कठौनामा शनिबार आयोजित नगर भेलालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् । अधिकारबाट बञ्चित जाती समुदाय एकताबद्ध भएर आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । देशमा एकात्मक राज्य कायम राख्न एकअर्काको बिरुद्ध आन्दोलन गर्न सरकार र पहिचान बिरोधीहरुले उक्साउने गरेको बिगतको कुरा स्मरण गर्दै प्रमुख अतिथि नेता चौधरीले उत्पीडित र पहिचान पक्षधर बीचको एकता तोड्ने षडयन्त्रकारीहरुबाट सचेत रहन आग्रह गरे ।
अधिकार पाउने बिश्वासले बिभिन्न कालखण्डमा हाम्रा पुर्खाहरुले हरेक आन्दोलनमा ठूलो योगदान दिए पनि आफ्नो निम्ती नभएर अरुले फाइदा लिएको बताउदै उनले भने–‘अब आफ्नो लागि लड्ने दिन आएको छ ।’ सदियौंदेखिको बिभेद र उत्पिडन बिरुद्धको आन्दोलनमा आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, दलित, महिला, अल्पसङ्ख्याक समुदाय एकजुट भएर लाग्नु बाहेक अर्को बिकल्प छैन ।’
पार्टीका केन्द्रीय पार्षद युसुफ अलिले देशमा सत्ता परिवर्तन भए पनि शासन ब्यबस्था सामान्तीहरुकै हातमा रहेको बताए । सत्ता परिबर्तनसँगै शासन व्यबस्था उत्पिीडित समुदायलाई हस्तान्तरण नभएसम्म अधिकार सम्पन्न हुन नसक्ने उनको भनाई थियो । जिल्ला अध्यक्ष दिनेश कुमार यादबले जारी अन्दोलनले उत्पिडीत जाती समुदायको एकतालाई प्रगाढ बनाएको बताए । राज्यसत्ताको पहुँच भन्दा बाहिर रहेका हिमाल, पहाड, मधेशका जनताको पीडा एउटै रहेको कुरा जारी आन्दोलनले प्रमाणित गरेको उनको दाबी थियो ।
भेलालाई जिल्ला उपाध्यक्ष कन्तालाल चौधरी, सह–सचिब उपेन्द्र प्रसाद साह, दिल कुमारी चौधरी, उज्वल चौधरी, रामस्वागत बिक, पत्रकार बृजमान तामाङ समेतकाले सम्बोधन गरेका थिए । संघिय समाजबादी फोरम नेपाल शम्भुनाथ नगर अध्यक्ष चन्द्रकान्त मण्डलको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमालेका पुर्बकेन्द्रीय सदस्य दुर्गानन्द सदा, किरात राई यायोक्खा सप्तरीका अध्यक्ष मित्र बहादुर राई, क्षेत्र नम्वर ५का अध्यक्ष एयूब राइन, रसना यादव, संसारी चौधरीसहितकाले समेतले मन्तव्य व्यक्त गरे ।
क्षेत्रिय सदस्य श्रीनन्दन पालद्वारा सञ्चालित कार्यक्रमा स्वागत शम्भुनाथ नगर उपाध्यक्ष बिजय कुमार साहले गरे । भेलामा जिल्ला सदस्यहरु दुर्गा प्रसाद साह, गन्सु चौधरीलगायत शम्भुनाथ नगरपालिकाका ११ ओटैवडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भेलामा पार्टी एकिकरण गरी घोषणा गर्ने कार्यक्रम पनि रहेको संघिय समाजबादी फोरम नेपाल क्षेत्र नं ५ सप्तरीले जनाएको छ ।