राजविराज, २१ फागुन । सप्तरी जिल्लामा आगामी फागुन २९, ३० र चैत्र १ गते हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले शुक्रवार पत्रकार सम्मेलन एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरि राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७२ बारे जानकारी दिएको हो । जिल्लामा २ वर्ष माथिका ६ लाख ४० लाख ४ सय १९ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । उक्त औषधी खुवाउनकालागि जिल्लाभरी ३ हजार ७ सय ४२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाएर सप्तरी जिल्ला देशभरीमै विगत तीन वर्षदेखि सर्वोत्कृष्ट हुँदैआएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । २०६७ सालमा ८५, ०६८ मा ८१, ०६९ मा ८८.१६, ०७० मा ९४.३२ र ०७१ म ९५.१ प्रतिशतले हात्तीपाइले रोग विरुद्धको औषधी खाएको उनले बताए ।
कार्यक्रमलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला विशिष्ठ व्यक्तिहरुलाई समेत आमन्त्रित गरी औषधी खाएर औपचारिक रुपमा तीन दिने अभियानको शुभारम्भ गर्ने उनले जानकारी दिए । कार्यक्रमलाई सफल पार्नकालागि आ–आफ्नो स्थानबाट सहयोग गर्न वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले आम जिल्लावासीसँग आग्रह गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देवले धन्यवाद दिँदै कार्यक्रमलाई सफल पार्न आग्रह गरे ।