• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लैङ्गिक हिंसा नियन्त्रण समन्वय समिति गठन

राजविराज, २१ फागुन । प्रहरी चौकी फत्तेपुरका प्रमुख प्रहरी नायव निरीक्षक ब्रह्मदेव साहको संयोजकत्वमा शुक्रबार ३१ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण गाविसस्तरिय समन्वय समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा गीता पौडेल, सन्जु चौधरी, रुपा कोइराला, चौठीदेवी सदा, लिला थापा मगर, रन्जनकुमार महतो, बबिता कार्की, गोमा घिमिरे, मन्जु चौधरी, देवी जोशी, नवराज निरौला, सरस्वती ओझा, राजकुमारी चौधरी, गीता कोइराला, मनकुमारी गिरी, लिला चौधरी, शिव आचार्य, बन्दना झा, रमिला राई, श्रीदेवी राउत, मीना गौतम, प्रिंयका सन्त, बिमला विष्ट, रन्जना चौधरी, इन्दिरा आचार्य, दुर्गा कार्की, गीता भट्टराई, विना चौधरी, मानप्रसाद लुइटेल रहेका छन् ।
समन्वय समितिको सदस्यसचिवमा प्रहरी चौकीका प्रहरी हवल्दार सावित्रा न्यौपाने रहने व्यवस्था छ । समन्वय समितिले एक साताभित्र वैठक बसेर कार्यकारिणी समिति चयन गर्नेछ ।
यसअघि प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र केन्द्रले दिने सेवाहरुबारे जानकारी गराउने उद्देश्यले बिहीबार सप्तकोशी नपामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । महिला तथा बालबालिका विरुद्ध हुने हिंसाको घटना न्यूनिकरण गर्न घटना घटेमा उजुरी दिने स्थान, निकाय र कानुनी प्रावधानबारे समुदायस्तरमा चेतना जागरण गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष एवं इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलको अध्यक्षतामा आयोजित अन्तरक्रिया एवं छलफल कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले सहजिकरण गर्नुभएको थियो । अन्तरक्रियामा सहभागिहरुले विभिन्न जिज्ञासा राख्दै आगामी दिनमा आपसमा समूहकृत र संगठित भई हिंसाका घटना विरुद्ध वहस पैरवी र वकालत गर्ने तथा सम्बन्धित निकायमा उजुरी गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वहुविवाह, वालविवाह, अनमेल विवाह, जबरजस्ती करणी, मानब बेचबिखन तथा ओसारपसार, वैवाहिक बलात्कार, यौनशोषण, कथित बोक्सीको आरोप तथा दुव्र्यवहार, महिला बिरुद्ध हुने हिंसा, घरेलु हिंसा, अन्य दुव्र्यवहार, महिला तथा बालबालिका बिरुद्धका गैरकानुनी कृयाकलापबारे जानकारी दिदै उजुरी गर्ने स्थान, कानुनी प्रकृया, हदम्याद, सजाय आदीबारे सविस्तार जानकारी दिइएको थियो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, पत्रकार, महिला सहकारी संस्था, स्थानीय महिला समूह, आमा समूह, गैसस, अधिकारकर्मी, बाल क्लब, पारालिगल समिति, प्रहरीलगायतको सहभागिता रहेको थियो । कानुनी अज्ञानताका कारण विभिन्न हिंसा सहन गर्न वाध्य ग्रामिण तथा विपन्न वर्ग र समुदायका महिला र किशोरीहरुलाई सुरक्षाको अनुभूति, सल्लाह, सुझाव, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन र प्रहरी कर्मचारीहरुलाई समेत सो सम्बन्धी अपनाउनु पर्ने कार्यविधि र व्यवहारका बारेमा जानकारी दिन कार्यक्रम उपलब्धीपूर्ण रहेको सहभागीहरुले बताए ।