• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बोधराज सुवेदी
महुली, ११ फागुन । सप्तरीको बकधुवा गाविसले एक समारोहका बीच  मङ्गलवार गाउँ परिषद् सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नम्वर ३ भिमार स्थित श्री हिरावती निम्न माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा गाविस सचिव कमल गिरीले  गाविसको आय ब्यय तथा विभिन्न योजनाहरुमा गरिएको वजेटको वाँडफाँड सहितको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै सचिव गिरीले आ. व. ०७१÷७२ मा आन्तरिकतर्फ ६ लाख ५६ हजार चार सय आठ र वाह्यतर्फ ६४ लाख १४ हजार तीन सय १५ गरी कुल ७० लाख ७० हजार सात सय २३ रुपैयाँ बराबर आम्दानी  भएको र विभिन्न शिर्षकमा गरी सोही बराबर नै खर्च गरिएको समिक्षात्मक विवरण सुनाए ।
त्यसैगरी उनले चालु आ.व. ०७२÷७३ मा आन्तरिकतर्फ ९ लाख ९० हजार र वाह्यतर्फ ७२ लाख चार सय तीन गरी ८१ लाख ९० हजार चार सय तीन रुपैंया बरावरको आय–ब्यय विवरण सार्वजनिक गरेका थिए । जसमा निर्देशिका बमोजिम  सामाजिक विकासका लक्षित समुदायकोलागि १४ लाख ७७ हजार पाँच सय छुट्याइएको छ भने बाँकी रहेको बजेटबाट वडा नम्वर ३,४,५ र ६ कोलागि बाटोमा ग्राभेल गर्ने र वडा नम्वर ३ मा निर्माणाधिन वर्थिङ्ग सेन्टर निर्माण गर्ने लगायतका योजनाहरुकोलागि बजेट विनियोजन गरिएको छ ।
सार्वजनिकरण कार्यक्रममा सचिव गिरीले आगामी आ.व. ०७३÷७४को लागि आन्तरिक तर्फ ११ लाख १० हजार र वाह्य तर्फ ७५ लाख २५ हजार गरी कुल ८६ लाख ९२ हजार बरावरको अनुमानित आय ब्यय प्रस्तुत गरे । गाविस सचिव कमल गिरीको अध्यक्षतामा सम्पन्न उत्त कार्यक्रममा जिविस सप्तरीका प्रतिनिधीद्वय वालजित राई र दीपराज आचार्य, स्थानिय राजनैतिक दल, नागरिक समाजका प्रतिनिधी, पत्रकार , वुद्धिजिवी लगायत गाविसको विभिन्न वडावाट आएका सर्वसाधारणको उपस्थिति रहेको थियो ।
गविसकी कर्मचारी विमला भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा गाविस वकधुवाकी प्राविधिक सहायक आशा कुमारी चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।