राजविराज, २७ माघ ।सप्तरीको प्रहरी चौकी झुटकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अशोक यादव जिल्ला अदालतको आदेशमा रिहा भएको छ ।
जिल्लाको झुटकी निवासी यादव सप्तरी जिल्ला अदालतको आदेशमा विहीबार साधारण तारेखमा रिहा भएका हुन् । गत पुस २० गते सा“झ भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएको नर्घो गाविसस्थित कल्भर्टमा असई सुब्बामाथि गोली हानी हत्या गरिएको थियो । हत्याको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले जिम्मेवारी लिएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै गत पुस २९ गते काठमाण्डौबाट राजविराजतर्फ आउने क्रममा वर्दीबासबाट उनलाई पक्राउ गरिएको थियो । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतमा पेश गरेका थिए । 
बिहीवार भएको थुनछेक बहसमा न्यायाधीश शारदप्रसाद कोईरालाको एक इजलासले पेश गरिएको सबुत प्रमाणबाट प्रतिवादीको कसुर प्रमाणित हुन नसकेको भन्दै यादवलाई साधारण तारिखमा रिहा गरिएको जनाईएको छ ।
यता मधेसी मोर्चा सप्तरीले आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी विभिन्न झुठा मुद्दा लगाउ“दैआएको भन्दै संघर्षका कार्यक्रमहरु गर्दैआएका थिए । अदालतको आदेशमा रिहा भएका यादवलाई मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका छन् ।