• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिंचाईमन्त्रीको नयाँ कार्यक्रम घोषणा

काठमाण्डौ, २६ माघ । सिचाईंमन्त्री उमेश कुमार यादवले सिचाईं क्षेत्रको विकास र विस्तारका लागि नयाँ कार्यक्रम घोषणा गरेका छन् ।
सिचाईं मन्त्रालयको कामलाई क्षेत्रगत रुपमा सन्तुलित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले पुराना कार्यक्रम तथा योजनालाई यथावत् राख्दै मनत्री यादवले यही आर्थिक वर्षदेखि केही थप योजना तथा कार्यक्रम घोषणा गरेका छन् ।
ती नयाँ योजना तथा कार्यक्रममा समृृद्ध तराई मधेश सिचाईं विकास कार्यक्रम, पहाडी तथा उच्च पहाडी टार सिचाईं कार्यक्रम, राजकुलो संरक्षण तथा व्यवस्थापन कार्यक्रम र दाङ उपत्यका सिचाईं कार्यक्रमलगायतका रहेका छन् । यी प्रस्तावित कार्यक्रम कार्यान्वयनका लागि मन्त्री यादवले अर्थ मन्त्रालयबाट बजेटको रुपमा थप ५८ करोड रुपैयाँ माग गरेका छन् ।
यस्तै, मन्त्री यादवले एक निर्वाचन क्षेत्रमा एक सिञ्चित नमुना गाउँ कार्यक्रम ल्याएका छन् । फागुन १ गतेदेखि सिञ्चित नमुना गाउँ घोषणा गर्ने तयारी गरिरहेको मन्त्री यादवले जानकारी दिए । मन्त्री यादवले निर्वाचन क्षेत्रलाई लक्षित गरी सिचाईं कार्यक्रम ल्याएका छन् । यस अन्तर्गत एक निर्वाचन क्षेत्रमा कम्तिमा ५ डिप बोरिङ, सय वटा स्यालो ट्युब वेल वितरण तयारी गरेका छन् ।
यस्तै, ४ बिघा उब्जाउ जमिनलाई एउटा स्यालो ट्युब वेल उपलब्ध गराउँदै आइएकोमा अधिकतम जमिनलाई सिञ्चित गर्ने लक्ष्यका साथ अब न्युनतम २५ बिघा उब्जाउ जमिनलाई ७ वटा स्यालो ट्युब वेल उपलब्ध गराइने मन्त्री यादवले बताए । मन्त्री यादवले स्यालो ट्युब वेल तथा ससाना लिफ्ट सिचाईं आयोजनाहरुका लागि सौर्य ऊर्जा जडान तथा निर्माण गर्ने तयारी पनि भइरहेको बताएका छन् ।