राजविराज, २५ माघ । संघिय समावेशी मधेशी गठबन्धनले जारी मधेश आन्दोलनलाई निर्णायक बनाउन आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धनको तर्फबाट नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेश राष्ट्रिय अभियानका देवेश झा र राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाद्वारा सोमबार जारी संयुक्त प्रेस विज्ञप्तीमा जनाईएको छ । मधेशमा विगत ६ महिनादेखि जारी मधेश आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अहंकार, संकिर्णता र अदुरर्हिताको कारण दुई चार दिनयता बिचलित जस्तो देखिएको भन्दै जारी आन्दोलनाई अझ निर्णायकमा पु¥याउनका लागि थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २८ गते विहिबार मधेशका सबै जिल्लाहरुमा शहीदहरुको सम्झनामा मैनबत्ती जुलुस प्रदर्शन गर्ने, फाल्गनु ३ गते सोमबार मधेशका जिल्लाका साथै काठमाण्डौमा समेत आन्दोलनको स्वरुपबारे बृहत अन्तरक्रिया कार्यक्रम गर्ने तथा फाल्गुन ३ र ४ गते काठमाण्डौमा गठबन्धनको बैठक गरी अन्य कार्यक्रमहरु तय गर्ने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।