• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नाका अवरोध आन्दोलनको अस्त्र भएकोले थप सशक्त बनाउनुपर्छः प्रा. झा

राजविराज, २४ माघ । वौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झाले नाकामा जारी अवरोध जारी मधेश आन्दोलनको ठूलो हतियार भएको भन्दै यसलाई अझ सशक्त बनाउँदै अविलम्ब थप नयाँ संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतवार ‘न्यूज टुडे’सँगको कुराकानी गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका आन्दोलनरत पक्षलाई यस्तो सुझाव दिएका हुन् । प्रमुख तीन दलका साथै वर्तमान सरकार जारी मधेश आन्दोलनलाई मत्थर पार्दै समाप्त पार्न खोजेको प्रष्ट पार्दै आन्दोलनरत दलका नेताहरु बीचको आपसी समझदारी बन्न नसकेका कारण आमजनतामा गलत सन्देश प्रवाह भईरहेको बताउँदै प्रा. झाले भने ‘नाका अवरोध मधेश आन्दोलनको ठूलो हतियार हो, यसलाई थप सशक्त बनाउँदै थप नयाँ संघर्षका कार्यक्रमहरु घोषणा गर्नु जरुरी छ ।’
आन्दोलनमा देखिएको शिथिलताका मधेशी जनतामा हाल आक्रोश स्वाभाविक भएको टिप्पणी गर्दै शासकवर्गका पृष्ठपोषक बनेर केही राष्ट्रिय मिडियाहरुले मधेश आन्दोलनलाई बदनाम गरिरहेको भन्दै संयोजक झाले त्यस्ता प्रचारबाजीमा विश्वस्त हुनुको औचित्य नरहेको बताए । नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका राजनीतिक विष्लेशक झाले भने ‘मधेश आन्दोलनमा केही शिथिलता आउनुलाई प्रमुख तीन दल, वर्तमान सरकार र त्यसका पृष्ठपोषण गर्ने मिडियाहरुले सफलता बुझ्नु ठूलो भूल हो, जबसम्म विभेद कायम रहन्छ तबसम्म आन्दोलन चलिरहन्छ ।’
मधेश र मधेशी जनताको हक अधिकारको सुनिश्चितताकालागि संघर्ष गरिरहेको सम्पूर्ण शक्तिहरु एकतावद्ध हुनुपर्ने आमजनताको आकाङ्क्षा रहेकोले जुनसुकै नाम दिएर कार्यगता बृहत मोर्चा बनाएर साझा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । जारी आन्दोलनमा मधेशका वौद्धिक जमातसँग सहकार्य गरेर सक्रिय सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘दोस्रो जनआन्दोलनमा जसरी वौद्धिक जमातहरुको सक्रिय सहभागिता थियो, त्यसरी नै यो आन्दोलनमा साथ आवश्यक छ, यसकालागि मधेशका प्रत्येक जिल्लाहरुमा बृद्धिजिवी वर्गलाई जोड्नु पर्दछ र गाउँगाउँमा जागरण अभियान चलाउनु जरुरी छ ।7
विश्वमा कहिँ नभएको आन्दोलन गरेर मधेशी जनताले देखाएको साहस र बलिदानी शान्तिपूर्ण आन्दोलनको नमूना भएको ठहर गर्दै उनले शासकवर्गको गैरजिम्मेवारपूर्ण चरित्रका कारण माग सम्बोधन नभएको बताए । संविधान जारी हुनु अघिदेखि नै चर्को विरोधका बावजुद जबरजस्ती सुरक्षा संयन्त्र परिचालन गरेर लोकतान्त्रिक संविधान जारी भएको इतिहास नरहेको चर्चा गर्दै उनले भने ‘संविधान जारी हुनु अगाडिदेखि नै करिब आधा जनसङ्ख्याले विरोध गरिरहेको अवस्थामा पनि संविधानको वैधतामाथि प्रश्नचिन्ह उठेको छ ।’
महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख प्रा. झाले प्रमुख तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी संविधानसभाको चुनावमा मधेशी जनतासँग गरेका प्रतिवद्धताहरु पुरा नगरी धोका दिएको तर्क गरे । ‘तीन ठूला पार्टीले मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजातीको हक अधिकार सुनिश्चित गर्ने विश्वासका साथ भोट दिए’ उनले भने ‘ तर विश्वास गरेर भोट दिने समुदाय ठगिए ।’
खस आर्यहरुको हक अधिकारप्रति बढी चिन्तित रहेको वर्तमान संविधानलाई सबैको संविधान बनाउनकालागि मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजातीसहित विभेदमा पारिएका वर्ग तथा समुदायहरुले एकसाथ देशैभरी शान्तिपूर्ण आन्दोलन अगाडि बढाउनुपर्ने उनको सुझाव थियो । राज्यको दमनकारी चरित्र र प्रमुख तीन दलको भूमिकाबारे सारा संसारले नियालिरहेको भन्दै निरन्तर मधेशी जनताको टाउँको र  छातीमा गोली चलिरहँदा पनि शालिनतापूर्वक शान्तिपूर्ण आन्दोलन गरेर मधेशी जनताले विश्वमै शान्तिपूर्ण आन्दोलनको नमूना प्रस्तुत गरेको प्रा. झाले बताए । विश्वकै उत्कृष्ट संविधान भन्नेहरुले नै संविधान संशोधन गरेर संविधानको उत्कृष्टता उदाङ्गो भएको उनले तर्क गरे ।