वीरगञ्ज, २३ माघ । मधेस समता पार्टीका अध्यक्ष एवं उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाधले वीरगन्ज चिनी कारखाना सञ्चालन गर्न र बाँकी रहेका कर्मचारीहरुको तलब उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगञ्ज चिनी कारखानाको निरीक्षणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै राज्यमन्त्री निषाधले चिनी कारखाना सञ्चालनकोलागि आफ्नोतर्फबाट सक्दो पहल हुने बताएका हुन् । उनले नेपाली कांग्रेसको सरकारले तराई मधेसमा रहेका सरकारी स्वामित्वका उद्योगहरु धरासायी बनाएको आरोप लगाउँदै आफू मन्त्री नहुँदा पनि सरकारी उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने भनेर आवाज उठाउँदा विरोधी भनेर मन्त्री नबनाएको बताए । 
राज्यमन्त्री निषाधले आफ्नो गृह जिल्लामा कारखाना रहेकोले अहिले आफु मन्त्री पदमा रहँदा पनि कारखाना सञ्चालनकोलागि पहल गरिरहने बताए । आफू वीरगञ्ज चिनी कारखानामा टायर गाडामा उखु काटेर ल्याएको स्मरण गर्दै राज्य मन्त्री निषाधले यसअघिका मन्त्रीहरुले चिनी कारखाना सञ्चालनकोलागि मन्त्री परिषद्मा प्रस्ताव नै नलगेको बताए । कार्यक्रममा कारखानामा तलब भुक्तानी नपाएका १ सय ९४ जना कर्मचारीहरुले आपूmहरुलाई तलब भूक्तान गरेर विदा गर्न मन्त्रीसँग आग्रह गरेका थिए ।