वीरगंज, २२ माघ । नेपाल जेसीसको आयोजनमा समृद्ध राष्ट्र निर्माणका लागि संवाद एवं सहकार्य बिषय सभा गहवामाई मन्दिर अगाडि सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् लालबाबु राउत गद्दीले सरकार र प्रमुख तीन दल ईमानदार नभएकोले वर्तमान परिस्थिति सृजना भएको बताउदै मधेसलाई अधिकार बिहिन गरेर समृद्ध राष्ट्र निर्माणको परिकल्पना नगरे पनि हुने बताए । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं पुर्व सभासद जितेन्द्र सोनलले संकिर्ण सोचका कारण देशमा द्वन्द्व सृजना भएको बताउँदै मधेसलाई अधिकार बिहिन गरेर समृद्ध राष्ट्र निर्माण कार्य तीन दलका दिवा सपना भएको बताए ।
नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले नेपाल जेसीसले मधेसको प्रमुख शहरहरुमा समृद्ध राष्ट्र निर्माणका लािग संवाद कार्यक्रमले मधेसमा नयाँ उर्जा थपेको बताउदै सदियोदेखि मधेसी समुदायलाई अधिकारबाट बञ्चित गरी दास बनाउने कार्य मात्र भएको बताए । पटेलले नेपालमा मधेसीहरुले आफनै राष्ट्रभित्र सम्पन्न एवं समृद्ध मधेसकालागि आन्दोलन गरिरहेको बताउदै नेपालमा मधेसीहरु अधिकार सम्पन्न नभएसम्म देशले निकास नपाउने बताए । 
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले जारी मधेस आन्दोलनमा मधेसमा बस्ने पहाडी समुदायले एक्यवद्धता जनाए तर ईमान्दारीपुर्वक आन्दोलनमा सक्रिय भुमिका निर्वाह नभएकोमा दुख व्यक्त गर्दै मधेस आन्दोलन सफल पार्नका लागि मोर्चा र गठबन्धन एक हुनु जरुरी रहेको बताए ।
तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय सदस्य एवं पुर्व सभासद आत्माराम साहले सदियौंदेखि नेपालमा मधेसीहरुमाथि दोस्रो दर्जाको नागरिक सरह व्यवहार हुनु र राज्यको हरेक सुख सुबिधाबाट बञ्चित गरेकोले वर्तमान आन्दोलन सृजना भएको बताए । मधेसवादी दलसँग भएको सम्झौता कार्यन्वयन नभएसम्म आन्दोलन जारी रहने बताए ।
सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानीले जारी मधेस आन्दोलनमा मधेसको अन्य नाकाहरु खुलिसकेको हुनाले हाम्रो पार्टी वीरगञ्ज नाका बन्दको पक्षमा नरहेको बताउदै तीन दल र सरकारले मधेसीहरुलाई अधिकारबाट बञ्चित गरेको बताए । अब मधेसमा हथियारको राजनितीसंगै सम्प्रदायिक एवं हिंसात्मक आन्दोलन हुने खतरा रहेको समेत उनले दावी गरे ।
नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष एवं नागरिक समाजका अगुवा डा. दिपक शाक्यले प्रमुख तीन दलले जारी गरेको नयाँ संबिधानमा मधेसीहरुलाई अधिकारबाट बञ्चित गर्नुको साथै पुराना सम्झौताहरु लागु नगरेको कारण तराई मधेस आन्दोलित भएको बताए । संघीय समावेसी मधेसी गठबन्धनका नेता राजकुमार यादवले अधिकार र पहिचानको आन्दोलनलाई बिखण्डनकारीको संज्ञा दिनु दुर्भाग्यपुर्ण रहेको बताउदै नेपाल सरकार र प्रमुख तीन दलले मधेसको माँगलाई सम्बोधन गरेर देशलाइ निकास दिनुपर्नेमा जोड दिए ।
नेपाल जेसीसका केन्द्रीय अध्यक्ष जगतबहादुर पोखरेलले जारी मधेस आन्दोलनका कारण तराई मधेससँगै नेपालमा बसेका नेपालीहरु बिच आपसी भाईचारा नबिग्रोस भन्ने उद्देश्यका साथ मधेसका प्रमुख शहरहरुमा समृद्ध राष्ट्र निर्माण सभा गर्ने जेसीसले अठोट लिएको बताए । नेपाल जेसीस मधेस आन्दोलनको जायज माँगहरु पुरा गर्न सरकारसँग पहल गर्ने समेत उनलेप्रतिवद्धता व्यक्त गरे ।
वीरगञ्जको गहवामाई मन्दिर अगाडि नेपाल जेसीस केन्द्रीय कार्यालयको आयोजना एवं वीरगञ्जको जेसीसको बिशेष पहलमा भएको सभामा फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य संजय यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सल्लाहकार अशोक यादव, नेपाल जेसीस एवं नारायणी अञ्चल भरिका जेसीसका जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
वीरगञ्ज जेसीसका अध्यक्ष राजेश पटेलको सभापतित्वमा सम्पन्न सभालाई नेपाल जेसीसका केन्द्रिय महासचिव बिष्णु बरालले सहजीकरण गरेका थिए ।