• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निर्दोष व्यक्तिलाई फँसाउने तथा दोषीलाई उन्मुक्ति दिने काम भईरहेको छः मोर्चा

राजविराज, २२ माघ । प्रहरी चौकी झुटकीको इन्चार्ज रमेश सुब्बाको हत्याको विषयमा वास्तविक अपराधी पत्ता नलगाई निर्दोष व्यक्तिलाई फँसाउने काम भईरहेको भन्दै मधेशी मोर्चा सप्तरीले गम्भीर आपत्ति जनाएको छ ।
मोर्चाका सप्तरी संयोजक कपिलदेव यादवले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । ‘वास्तविक अपराधिलाई जोगाउने गरी भइरहेको प्रहरीको प्रयास प्रति हाम्रो घोर आपत्ति छ’ यस्तो क्रियाकलापले समाजमा प्रहरी संगठनप्रतिको जनतामा पर्ने नकारात्मक प्रभावप्रति समयमै सचेत हुन विद्यमान कानूनी व्यवस्था अनुसार झुटकी–७ का अशोक यादवलाई तत्काल उन्मुक्ति दिन प्रहरी प्रशासनलाई अनुरोध गर्दछौं ।’
प्रहरी चौकी झुटकीका इन्चार्ज रमेश सुब्बाको दुखद हत्याको विषयमा तत्कालै राष्ट्रिय मिडियामा घटनाको जिम्मेवारी लिँदै अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले टेलिफोन सम्वाद गरेको र सोही बमोजिम स्थानीय पत्र–पत्रिकामा पनि समाचार प्रकाशित भएको मोर्चाले जनाएको छ । हालसालै पनि निज गोइत सिरहाको डा. पशुपतिको अपहरण फिरौती काण्डको सन्दर्भमा रमेश सुब्बाको घटना आफूले गरेको भनी स्वीकार गरेको तथ्य जगजाहेर रहेको भन्दै योजनाबद्ध ढङ्गले अपराधीलाई उम्काई वा अपराधीसम्म पुग्न नसकी वाहवाही लिन निर्दोष व्यक्तिलाई फँसाउने गरी गरिएको कथित प्रहरी अनुसन्धानप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भई तत्सम्बन्धमा विभिन्न चरणमा स्थानीय प्रहरी प्रशासनलाई समेत जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यादवलाई गैरकानूनी रुपले पक्राउ गरी ३ दिनसम्म अवैधानिक हिरासतमा राखी कुटपीटसमेत गरी ‘तिमी यस्तो बयान देउ, तिमीलाई सरकारी गवाह बनाएर उन्मुक्ति दिनेछु, होइन भने मारेर फालिदिन्छु भनी प्रहरी नायव निरीक्षक घनश्याम रायले धम्की र प्रलोभन दिई प्रहरी निरिक्षक छेदी कामतीद्वारा सोधपुछ गर्न लगाई इच्छा विरुद्ध हुँदै नभएको कुरा बोल्न लगाई मोवाइलबाट सो कुरा रेकर्ड गरी फोटो खिँची सोही प्रमाणलाई आधार टेकी निज अशोक यादव उपर मुद्दा चलाउने प्रयास गरेको कार्यको मोर्चाले भत्र्सना गरेको छ ।
‘प्रहरी कर्मचारीकै हत्याको विषयमा वास्तविक अपराधिलाई उन्मुक्ति दिने र निर्दोष व्यक्तिलाई फँसाउने गरी प्रहरी अनुसन्धानको यस्तो नाटकले जिल्लाको शान्ति सुरक्षा एवम् अपराध अनुसन्धानको कार्यलाई मधेशमा योजनाबद्ध ढङ्गबाट मधेशीलाई झुठ्ठा मुद्दामा फँसाउने कार्य विगतदेखि वर्तमानसम्म भईरहेको हाम्रो ठम्याई छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘ हालसालै राष्ट्रिय मानवअधिकार आयोगको टोलीले निर्दोष अशोक यादव उपर गैरकानूनी पक्राउ गरी तीन दिनसम्म गैर कानूनी थुनामा राखी कुटपीट, धम्की एवं प्रलोभन दिइएको विषयमा हिरासतमै भेंटघाट गरी वस्तुस्थिति अवलोकन गरेको छ ।
प्रहरी वर्तमान अपराध अनुसन्धानबाट अशोक यादव वा अन्य अभियुक्तहरु घटनामा संलग्न रहे भएको प्रमाणित हुने कुनै पनि तथ्य प्रमाण मिसिलमा नरहेको प्रेस विज्ञप्तिमा जनाएको छ । प्रहरीले अनुसन्धान प्रक्रिया टुंग्याएर राय प्रतिवेदनसहित सरकारी वकिल मार्फत मुद्दा अदालतमा पठाएर आफु पानी माथिको ओभानो देखिने प्रहरीको प्रयास गलत रहेको विज्ञप्तिमा जनाईएको छ ।