बिराटनगर, १३ माघ । मोरङको रंगेलीमा माघ–७ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपका क्रममा अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठन–पाठनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । 
मृतक परिवारका बालबालिकाको अध्ययनका लागि छात्रवृति स्वरुप साई सेवा समाज निधिका अध्यक्ष डा. सुन्दरमणि दीक्षितले २ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन् । झडपका क्रममा मृत्यु भएका महादेव ऋषिदेवका छोराछोरीको अध्ययनकालागि १ लाख ५० हजार रुपैयाँ र शिवु माझीका छोराछोरीको अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
रंगेलीमा विहीवार एक कार्यक्रम गरी महादेव ऋषिदेवकी पत्नी सीतादेवी र शिवु माझीकी पत्नी रेखादेवीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । सहायता रकम प्रदान गर्दै डा. दीक्षितले नेपालमा बस्ने सबै नेपालीहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यसैगरी सविता अग्रवाल मेमोरियल ट्रष्टले समेत शिवु माझीका एकजना सन्तानलाई कक्षा ११ सम्मको निःशुल्क अध्ययनका लागि सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा स्थानीय रुपमा क्रियाशील श्री सत्य साई सेवा संगठन नेपालले समेत चारजना बालबालिकाको पठन–पाठनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।