काठमाडौं, ११ माघ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले समेत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
चैतसम्मकालागि आन्दोलनका कार्यक्रमहरु तय गरी सार्वजनिक गरिएको हो । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल अध्यक्ष पद्यरत्न तुलाधरको अध्यक्षतामा निर्देशक समितिको बैठकले गत शुक्रबार उक्त निर्णय गरेको थियो ।
मोरङ्गको रंगेलीमा मधेसी आन्दोलनकारीहरुमाथि प्रहरी दमनको ‘घोर भत्र्सना गर्दै असोज ३ गते जारी भएको संविधान प्रतिगामी’रहेको ठहर गर्दै आन्दोलनका कार्यक्रम तय गरिएको छ । आन्दोलनका कार्यक्रम काठमाडौं र प्रदेश स्तरमा रहने जनाइएको ।
काठमाडौंमा माघ ११ मा कालो झन्डा प्रदर्शन र १६ गते मार्चपास गर्ने कार्यक्रम तय गरेको छ । आदोलनकारी शक्तिहरुसँग सहकार्य र मोर्चाबन्दी पनि समेत गर्ने जनाईएको छ । सुदूरपश्चिमको कैलालीमा माघ २३ बृहत विरोध सभाको आयोजना गरिने प्रवक्ता, प्रा.डा. ओम गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विरोध सभा व्यवस्थापनको जिम्मा थरुहट–थारुवान संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरु तथा जातीय संघ संस्थाहरुलाई दिइने जनाईएको छ । यसैगरी इटहरीमा फागुन १२ र वीरगञ्जमा फागुन १४ गते प्रादेशिक विरोधसभामा गर्ने बताइएको छ । राजधानी काठमाडौंका टोल–बस्तीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले उठाएका मुद्दाहरुप्रति आम समुदायलाई सचेत बनाउन तथा आन्दोलनमा संगठित गर्न व्यापक जागरण अभियान चलाइने प्रेस विज्ञप्तिमा जनाईएको छ ।