राजविराज, ९ पुस । वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौलाले मधेशी जनताले जारी राखेको अधिकारप्राप्तिको आन्दोलनलाई दशगजाबाट सिंहदरबारतर्फ फर्काउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
राजविराजस्थित सामुदायिक रेडियो छिन्नमस्ता एफएमको चर्चापरिर्चा कार्यक्रममा विहीवार कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनताले शान्तिपूर्ण राख्दैआएको आवाजलाई बन्दुकबाटै दबाउने प्रयास सरकारले जारी राखेको प्रष्ट्याउँदै उनले भने ‘मधेशी जनतामाथि गोली ठोक्नेसम्मको चरम दमन नरोकिएपछि बाध्य भएर आन्दोलनकारीहरु सिमा केन्द्रित आन्दोलन गरेको हो, तर अब अधिकारप्राप्तिको आन्दोलनलाई दशगजाबाट अब सिंहदरबार केन्द्रित गर्नुपर्दछ ।
जारी आन्दोलनले मधेशलाई विश्वभरी चिनाएको भन्दै राज्यपक्षले जस्तोसुकै दमन गरे पनि मधेश आन्दोलनको न्यायोचित मागलाई सम्बोधन गर्नुको विकल्प नरहेको उनले प्रष्ट पारे । मधेशी जनताले एकिकृत नेपालभित्रै आफ्नो हक अधिकार खोजिरेको प्रष्ट पार्दै वरिष्ठ लेखक एवम् साहित्यकार सङ्ग्रौलाले भने ‘राज्य सञ्चालन गर्ने सनातनी सञ्चालकहरु देश र जनताप्रति जिम्मेवार छैन तर अब पहाडका नागरिक समाज, बौद्धिक जमातको समर्थन मधेश आन्दोलनप्रति बढ्दैगएको छ, मिडियाहरुको टोन परिवर्तन हुँदैगएको छ ।’
मधेशी जनताले राज्यको हरेक निकायमा प्रवेश, पहुँच र समानताको अधिकार खोजिरहेको बताउँदै उनले राज्यले मधेशका आवाजलाई अझैं उपेक्षा गरिए धैर्य बाँध टुट्नसक्ने बताए । ‘पहाडी राज्यको अन्धाधुन्ध उपेक्षाले राज्यसँग मधेशी समुदायको तिक्तता बढ्दैगइरहेको छ’ उनले भने ‘राज्य अझैं सचेत भएन भने नचाहँदा नचाहँदै विखण्डनको बाटो जाने खतरा बढेको छ ।’ मधेश आन्दोलनले अहिले पनि विखण्डन नचाहेको प्रष्ट पार्दै उनले भविष्यमा हुनसक्ने खतराको जिम्मेवार राज्यपक्ष नै हुने उनले ठहर गरे ।
विगतको मधेश विद्रोहमा पहाडी र मधेशी बीचको विद्वेश देखिएको तथा विस्थापन समेत भएको तर वर्तमान आन्दोलनमा सामाजिक सद्भावको मजबुती नै सुन्दरता भएको उनले तर्क गरे । ‘जारी आन्दोलनमा मधेशी मात्र होइनन् मधेशमा बस्ने पहाडी समुदायको समेत ऐक्यवद्धता छ’ उनले भने ‘अढाइ सय वर्षदेखि विभेदमा पारिएका मधेशी समुदायले शान्तिपूर्ण आन्दोलनबाटै अधिकारप्राप्ति हुने कुरा बुझेर गाउँ–गाउँबाट खाली खुट्टा र भोको पेट लिएर आन्दोलनमा सहभागी भएका छन् ।’
वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसकेको तथा मधेशी जनताको भावनामा चोट पुग्ने खालका अभिव्यक्तिहरु दिएर समस्या समाधान गर्नुको साटो झन् उत्तेजित पार्ने काम गरिरहेको उनले बताए । ‘नश्लवादी राष्ट्रवादले मधेशी जनतासँग शत्रुवत व्यवहार गर्दैआएको छ, एउटै देशभित्र यस्तो व्यवहार घोर निन्दनीय एवम् अक्षम्य छ’ लेखक एवम् राजनीतिक विष्लेशक सङ्ग्रौलाले भने ‘शत्रुसँग गरिने व्यवहार राज्यले मधेशी जनतामाथि गरिरहेको छ, वर्तमान सरकारलाई महेन्द्रीय अन्धराष्ट्रवादको प्रेत चढेको छ ।’
प्रधानमन्त्री ओलीले विश्वकै सबभन्दा ठूलो मानव साङ्लोलाई माखे साङ्लो, झलनाथ खनालले धोती प्रदेश, युपी बिहार जस्ता शब्दहरु प्रयोग गरेर मधेशी जनताको भावनामाथि चोट पुर्याउने काम भएको उनको टिप्पणी थियो । राज्य र मधेश बीचको दुरी बढाउनमा नेताहरु नै जिम्मेवार रहेको भन्दै राज्य र मधेश बीचको सार्थक सम्वाद नहुनुको मुख्य बाधक प्रधानमन्त्री ओली नै भएको स्तम्भकार सङ्ग्रौलाले बताए ।
मधेश आन्दोलनलाई दिल्लीको उक्साहट र भारतको दानापानीमा भएको जस्ता अपमानित शब्दहरु भनेर मधेश आन्दोलनलाई कमजोर पार्न वर्तमान सरकार र शासकीय प्रवृतिका नेताहरु सक्रिय रहेको उनले दावी गरे । कोशी, गण्डकी, टनकपुर, महाकाली लगायतका सम्झौता गर्नेहरु पहाडी समुदाय नै भएको चर्चा गर्दै असमान सन्धी सम्झौता गर्नेहरु राष्ट्रघाती नहुने तर सोझासाझा मधेशी जनता राष्ट्रविरोधी हुने ? प्रतिप्रश्न गर्दै सङ्ग्रौलाले भने ‘पहाडीहरुको राष्ट्रियतामा ढोङ्ग र पाखण्डपन छ भने असली राष्ट्रवादीपन मधेशी जनतामा छ ।’ काठमाण्डौका शासकहरुको लैनचौर र दिल्ली मावली जस्तै भएको र सत्ताको खेलमा दिल्ली धाउने गरेको बताउँदै उनले भने ‘मधेश आन्दोलनले त मानवतावाद तथा देश तोड्ने होइन, जोड्ने आन्दोलन हो ।’
देशका आधा भूभागका जनता संविधानको विरोधमा रहँदा पनि राज्यलाई चेत नखुलेको प्रष्ट पार्दै उनले भने ‘शुरुमै मधेशी जनताको आवाजलाई सम्बोधन गरी संविधान संशोधन गरेको भए यस्तो सङ्कट देशमा आउने थिएन, अझैं पनि मधेशी शहीदहरुलाई समेत अपमान गर्र्ने कार्य राज्यपक्षबाटै भइरहेको छ ।’ सेना सामाजिक द्वन्द्वबाट टाढा बस्नुपर्नेमा प्रधानसेनापति स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीसँग विवाहपञ्चमी महोत्सवमा जनकपुर आएको प्रसङ्ग कोट्याउँदै भने ‘जानकी मन्दिरमा कुत्ता र जुत्ताले प्रवेश पाएपछि मन्दिर धुने काम भएको हो र राष्ट्रपति भण्डारीको विरोध हुनु अस्वाभाविक थिएन, मधेशी जनताको भावनालाई सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओलीले भावनामा चोट पुर्याउने खालका अभिव्यक्ति दिईरहेको अवस्थामा आन्दोलनकारीहरुको आक्रोश अभिव्यक्त मात्र भएको हो ।’
जनकपुर घटनाको विषयमा मिडियाहरुसमेत चुकेको प्रष्ट पार्दै पञ्चायतकालमा राजारानीको गुणगान गर्ने सरकारी अखबारकै शैली नेपालका मिडियाहरुले अख्तियार गरेको सङ्ग्रौलाले टिप्पणी गरे । सत्यतथ्यको धरातलभन्दा बाहिर गई राज्यले मधेशी जनतामाथि अपनाएको शैलीमै मिडियाहरु पृष्ठपोषकको भूमिका निर्वाह गरिरहेको उनले बताए । बन्दुकले दमन गरेर राजनीतिक समस्याको समाधान नहुने भन्दै वास्तविक यथार्थलाई स्वीकार गर्दै मधेश आन्दोलनको मागलाई सम्बोधन गर्नुको विकल्प नभएको सङ्ग्रौलाले टिप्पणी गरे ।