राजविराज, १ पुस । जनकपुरमा सर्वसाधारण जनतामाथि गरिएको बर्बर दमनको विरोधमा बुधवार राजविराजमा विरोध प्रदर्शन र पुतला दहन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा सर्वसाधारण जनतामाथि लाठी चार्ज, अश्रुँग्यास र गोली प्रहार गरी दर्जनौंलाई घाइते बनाएको भन्दै मधेशी मोर्चा सप्तरीले प्रदर्शन गरेको हो । मोर्चाका नेता तथा कार्यकर्ताहरु राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीको पुतला समेत दहन गरिएको छ ।
मोर्चाले सदरमुकाम राजविराजको विभिन्न भागमा टायर बालेर दिनभरी प्रदर्शन जारी राखेका छन् । विरोध प्रदर्शन पश्चात मोर्चा राजविराज स्थित शहीद दशन चौकमा सभाको आयोजना समेत गरिएको छ ।