लहान, २९ मंसिर । नेपाल चलचित्र कलाकार संघको मंसिर २६ गते काठमाण्डौंमा भएको अधिवेशनमा समावेशी, समानुपातिक र जनसंख्याको आधारलाई मिच्दै एकलौटी पहाडेहरुको कार्यसमिति तयार गरेकोप्रति मधेश मिडिया मिशन नेपाल घोर आपत्ती जनाएको छ ।
मधेश बन्दको मौका छोपी काठमाण्डौंका गैर कलाकारलाई सदस्यता दिई विस्तार गरी बन्दकै बेला अधिवेशन गरि मधेशका कलाकारलाई उपेक्षा गरेको आरोप लगाइएको छ । अधिवेशनले समावेशीको आधारलाई ठाडो चुनौती दिंदै एकलौटी पहाडेहरुको कार्यसमिति गठन गरेकोले मिशनले यस्ता कार्यप्रति घोर आपत्ती जनाएको छ । मिशनले विधान संशोधनको आवाज उठाउंदै आएको र मधेशका कलाकारहरुलाई सदस्यता प्रदान गर्न पटक पटक माग गर्दै आएको थियो ।
काठमाण्डौं स्थित चलचित्रक्षेत्रमा काम गर्दै आएका राजकुमार साहले मधेशी कलाकारमाथी षड्यन्त्र भएको बताएका छन् । उनले भने ‘ लोकतन्त्रमा समावेशीलाई चुनौती दिंदै पहाडे चलचित्र संघ गठन भएको हो, नेपाली चलचित्रको आधार नभएका व्यक्तिहरुलाई सदस्य बनाईएको छ ।’
मधेश बन्द रहँदा काठमाण्डौंमा आयोजना गरिएको संघको अधिवेशनमा मधेशी कलाकार सहभागी हुन् सकेन् । मधेशी कलाकारहरुले अधिवेशनको मिति अगाडि सार्न आग्रह गरेका थिए । यसैबीच गैरसमावेसी संघको विरोधमा अर्को चलचित्र संघ गठन गर्ने तयारी समेत भइरहेको जनाइएको छ ।