राजविराज, २६ मंसिर । संघीय समावेशी मधेशी गठबन्धन घटकका नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले जारी संविधानलाई पूर्ण समावेशी बनाउन १ सय २ स्थानमा संशोधन गर्नुपर्ने बताएका छन् ।
राजविराज स्थित जिल्ला पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जारी संविधानलाई पुनर्लेखन गर्नुपर्ने पक्षमा आफूहरु नरहेको भन्दै विभिन्न ठाउँमा गरी १०२ ठाउँमा शब्द, वाक्य, कोष्ठआदी थप मात्र गर्दा संविधान पूर्ण समावेशी हुने उनले तर्क गरे । ‘जारी संविधानलाई सत्तारुढ गठबन्धनले उत्कृष्ठ भने पनि यो त्रुटीपूर्ण छ’ अध्यक्ष झाले भने ‘गठबन्धनले ९ बुँदे माग प्रस्तुत गरेको छ, उक्त माग सम्बोधन भए संविधान पूर्ण हुनेछ ।’
समग्र मधेशलाई एउटा प्रदेशको मान्यता पाउनुपर्नेमा हाल गरिएको मधेशको एकिकृत रहेको भू–भागलाई ६ खण्डमा विखण्डन गरिएकोले संरचना आफूहरुलाई मान्य नहुने अध्यक्ष झाले तर्क गरे । मधेशमा दुई प्रदेशमा सहमती हुने हो भने मधेशको भू–भाग भित्री मधेश समेत समाविष्ट गरी परस्परमा दुवै प्रदेशको सिमा जोडिएको दुई प्रदेश आवश्यक रहेको प्रष्ट पार्दै पूर्वमन्त्री समेत रहेका उनले भने ‘नारायणी नदीदेखि पूर्व झापासम्मका मधेशका भू–भाग सम्मिलित पूर्वी मधेश प्रदेश र नारायणी नदीदेखि पश्चिम कञ्चनपुरसम्म पश्चिमी थरुहट मधेश प्रदेशको निर्माण गरिनुपर्दछ ।
संसदको लागि हुने प्रत्यक्ष निर्वाचन पद्धती अनुसार संविधानमा पुरै देशकालागि छुट्याइएको १ सय ६५ निर्वाचन क्षेत्रहरु हरेक प्रदेशमा भएको जनसंख्याको समानुपातिक दरले प्रदेशमा बाँडिनुपर्नेमा उनले जोड दिए । उपल्लो सदनमा प्रत्येक प्रदेशबाट आठ–आठ जना साँसदको व्यवस्था खारेज गरी प्रत्येक प्रदेशमा न्यूनतम एक सदस्य रहने गरी बाँकी सदस्यको जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने उनले तर्क दिए ।
मधेश आन्दोलनमा विभिन्न मोर्चा बनाई आन्दोलनमा सहभागी भए पनि एउटै मोर्चा बन्न नसकेको सन्दर्भमा आन्दोलनले लामो समय लिएका कारण सबैको दवाबबाट माग सम्बोधन गराउनेतर्फ लाग्न आवश्यक रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा नरम भाषा प्रयोग हुन थालेको सन्दर्भ कोट्याउँदै मधेशको मुद्दा सम्वाद र सहमतीबाट टुङ्गो लगाउनुपर्छ भने अभिव्यक्ति आउनु सकारात्मक रहेको सद्भावना अध्यक्ष झाले टिप्पणी गरे ।
पार्टीका जिल्ला अध्यक्ष सुबी यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरु राजिव झा, रामबृक्ष महतो, अनिल सिंह, रामनारायण यादव, जयप्रकाश सिंह, हेमशंकर सिंहलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।