राजविराज, २० मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु यतिबेला भारतीय वरिष्ठ नेताहरुसँगको भेंटघाटमा व्यस्त रहेका छन् ।
मधेश आन्दोलन, राज्यद्वारा मधेशी जनतामाथि भइरहेको विभेद, चरम दमन, मानव अधिकारको घोर उल्लंघनलगायतका विषयमा विस्तृत जानकारी गराउन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव दिल्ली आइतबार दिल्ली पुगेका हुन् । भारतका वरिष्ठ नेताहरुलाई मधेश आन्दोलन तथा मधेशी जनताको मागबारे विस्तृत जानकारी गराउन दिनभरी व्यस्त मोर्चाका नेताहरु व्यस्त रहे ।
मोर्चाका नेताहरुले जनता दलका अध्यक्ष शरद यादवलाई नयाँ संविधानमा मधेशी जनताका आवाज नसमेटिएको, पौने चार महिनासम्म जारी शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको बर्बरतापूर्ण दमन, प्रमुख तीन दलले मधेशको मागलाई गरेको बेवास्ता लगायतका विषयमा बताएका छन् । भेंटघाट पश्चात भारतीय नेताले यादवले मधेशको मागलाई सकारात्मक रुपमा लिएका छन् ।
भेंटघाटलाई तिब्रता दिँदै मोर्चाका नेताहरुले काँग्रेस आइका वरिष्ठ नेता करण सिंह र राष्ट्रिय काँग्रेसका नेता डीपी त्रिपाठीसँग समेत भेटेर मधेश आन्दोलन र राज्यको रबैयाबारे ध्यानाकर्षण गराएका छन् । भारतले नेपालमा नाकाबन्दी नगरेको भन्दै आफूहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण नाका अवरुद्ध हुँदा आयात–निर्यात प्रभावित भए पनि केही नेताहरुले भारतसँग जोडेर अनावश्यक टिप्पणी गरेको मोर्चासँगै रहेका एक सञ्चारकर्मीले जानकारी दिएका छन् । मधेशी नेताहरुले सीमांकन आफूहरुको प्रमुख मुद्दा रहेको भन्दै सहयोग गर्न समेत आग्रह गरेका छन् ।

बेलुकी साँढे सात बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग डिनरसहितको भेटवार्तामा समेत मोर्चाका नेताहरु सहभागी भएका छन् । मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने जनाईको छ । हालसम्म भारतीय नेताहरुसँगको भेंटघाट एकदमै सकारात्मक रहेको तथा मधेशी नेताहरुलाई विशिष्ठ सत्कार समेत गरिएको छ ।