• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आँशु बनेर पोखिदै शहीद परिवारको पीडा

अढाई वर्षिय छोरी भन्छिन् ‘हमल पापा चकलेत ल्या के एतै’

श्यामसुन्दर यादव
छपकी, १७ मंसिर । भर्खर–भर्खर डेगाडेगी दिन शुरु गरेकी अढाई वर्षिया बालिका साक्षीले आँगन बाहिर निस्किदै तोतेबोलीमा गुनगुनाई रहेकी थिइन् ‘हमल पापा चकलेत ल्या के एतै (मेरा बुवा चकलेट लिएर आउनुहुन्छ) ।’ बालिकाकी आमा सुषमा देवी यादव काखमा २ महिने छोरा केसीलाई बोकेर छोरीकी बोली एकहोरिएर टोलाईरहेकी थिइन् । सेतो वस्त्रमा मौन भएर बसिरहेकी उनको दुबै आँखाबाट आँसु बगिरहेको थियो ।
यस्तै दृष्य देखियो सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–९ छपकीका शहीद नागेश्वर यादवको घरमा । अबोध बालिकालाई के थाहा ? उनका बुवा अब राजविराजबाट चकलेट लिएर आउनुहुन्न । तर ती बालिकालाई औधी माया गर्ने बुवा आउनुहुन्छ भने आशा अझैं कायमै छ । बालिका साक्षीका बुवा नागेश्वर मंसिर ५ गते मधेश मोर्चाद्वारा निर्धारित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका हुन् ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजबाट बीएडको फाइनल दिएका उनी घरको काम सकाएर उनी ५ गते शनिवार साँझ करिब ४.३० बजेको समयमा घरबाट निस्केर राजविराज पुगे । त्यसैक्रममा उनका दाजु जुगेश्वरले फोन गरेर नागेश्वरलाई भने ‘तिमी रुपनी नजाउ, त्यहाँको अवस्था तनावग्रस्त हुन सक्छ ।’ तर नागेश्वरले दाजुलाई जवाफ दिए ‘दाइ, एकैछिनमा म आइहाल्छु चिन्ता नगर्नु, गाउँका अरु धेरै जना राजमार्ग घेर्न रुपनी पुगेका छन् ।’DSC04238
दैवको लिला राती करिब ११ बजेको समयमा सशस्त्र र नेपाल प्रहरीको टोली राजमार्गबाट आन्दोलनकारीहरुलाई हटाउन लाठीजार्ज, अश्रँृग्यास हुँदै गोलीसम्म चलाए । त्यो दिन गाउँगाउँबाट हज्जारौंको संख्यामा सर्वसाधारण जनता आन्दोलनमा सहभागी भएका कारण धेरैबेरसम्म उनीहरुले राजमार्ग कब्जामा लिईरहे ।
आन्दोलकारीहरु राजमार्गबाट हट्न नमानेपछि आक्रामक रुपमा प्रस्तुत भएका प्रहरीले चलाएको गोली नागेश्वरको तिघ्रामा लाग्यो । उनी तत्क्षण मैदानमै ढले । तर उनले हिम्मत हारेन । प्रहरीले भटटट गोली चलाईरहेको र आफ्ना सहकर्मी गोली लागेर ढलेको देखेपछि भीँड तितर–बितर भयो । त्यसपछि घाइते अवस्थामा रहेका नागेश्वरलाई प्रहरीले बुटले हिर्काउँदै परसम्म घिसारेर लगेको स्थानीयवासिन्दा समेत रहेका सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ । उनका अनुसार घाइते नागेश्वरलाई तत्काल उपचारका लागि लगिएको भए बाँच्ने अवस्था थियो ।
राती करिब १२.१५ बजेको समयमा गाउँकै मान्छेहरुले भाइ नागेश्वर गोली लागेर घाइते भएको कुरा जुगेश्वरलाई सुनाए । उनी तुरुन्तै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्ष पुगे । त्यहाँ नागेश्वरलाई बेडमा राखिएको अवस्थामा देखे । उनी भाइसँग कुरा गर्न खोजे तर स्थिर अवस्थामा रहेका नागेश्वरको मुखबाट बोली निस्केन । भाइको अवस्था बुझ्न अस्पताल पुगेका जुगेश्वर बेहोस भए ।DSC04237
मंसिर ६ गते विहान जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जाँदा नागेश्वरको पोष्टमार्टम यही गराउन प्रहरीले भन्यो । तर मधेशी मोर्चाको सहयोगमा पोष्टमार्टमका लागि उनीसहित अन्य शव समेत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो ।
यता सप्तरीकै झल्ही–फर्सैठमा माइतीमा रहेकी जिवन सङ्गीनी सुषमालाई घटनाको विषयमा केही थाहा थिएन । राती करिब २ बजेको समयमा जीवनसाथी नागेश्वर आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेको भनी उनलाई जानकारी दिईयो । विहान हस्पिटल जाँदा पतिलाई यस्तो अवस्थामा देखेपछि बिलौना गर्दै बेहोस भइन् ।
सत्यलाई स्वीकार गर्नैपर्दछ । नागेश्वर मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेको कुरा विभिन्न सञ्चारमाध्यमहरुबाट समाचार प्रवाह भयो । दुई दिन अघिमात्र सुषमा र नागेश्वर बीच फोनमा कुरा भएका थियो । सुत्केरी भएर माइतमै रहेकी सुषमा र दुई लालाबालामाथि बज्रपात नै भएको छ ।DSC04241
पति गुमाएपछि उनी यतिबेला ससुरालीमै छिन् । २०६८ फाल्गुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी भर्खरकी ठिट्टी सुषमाको बोली नै गायब भएको छ । उनीसँग कुनै कुरा सोध्दा बोल्दैनन् । एकहोरिएर बसिरहने तथा पतिको विषयमा कसैले चर्चा गर्दा उनको आँखाबाट आँसु टिलपिलाउन थाल्छ । मनको अथाह पीडा समेत पोख्न सकिरहेकी छैनन् उनले । छोरी साक्षीले आँगनमा नाच्दै ‘हमल पापा चकलेत ल्या के एतै…’ भनिरहँदा उनी चुपचाप टोलाएर हेरिरहन्छिन् ।
राजविराज स्थित छिन्नमस्ता उच्च माध्यमिक विद्यालयमा कक्षा १२ को पुरक परीक्षा दिएकी उनीमाथि आफूसहित दुई बच्चाको जिम्मेवारी समेत थपिएको छ । उनको आफ्नै भविष्य यतिबेला अन्यौलग्रस्त बन्न पुगेको छ । २१ वर्षिया सुषमाको अवस्था र दुई लालाबालाको अवस्था देखेर जो कोही पनि चिन्तित हुन पुग्छन् ।
यता छोरा नागेश्वरलाई गुमाउनुपर्दाको पीडा आमा सिकिल देवीको पीडा पनि कम छैन । कसैले छोराको विषयमा चर्चा गर्दा उनी भक्कानिएर रुन थाल्छिन् । रुँदारुँदै बेहोस हुने गरेकी आमा सिकिलदेवीलाई सम्हाल्नै गाह्रो हुने गरेको स्थानीयवासिन्दाहरु बताउँछन् ।DSC04243
नागेश्वरका बुवा जिबछको गत चैत्रमा निधन भएको थियो । चार दाजुभाइमध्ये जुगेश्वर, बालेश्वर, र सन्तोषमध्ये नागेश्वर काइँलो थिए । भाइलाई प्रोफेसर बनाउने सपना साँचेका दाजु जुगेश्वर भन्छन् ‘भाइलाई प्रोफेसर बनाउने सोच थियो तर सबै चकनाचुर भइदियो । भाइबुहारी र बच्चाबच्चीको अवस्था देखेर दाजुभाइहरु समेत चिन्तित छन् । कानूनी रुपले अंशबण्डा नगरे पनि चारैभाइ छुिट्टएर बस्दैआएका थिए ।
जारी आन्दोलनका क्रममा भाइ गुमाउँदाको पीडा सुनाउँदै जुगेश्वरले भने ‘अबोध बच्चाहरुको लालनपालन र शिक्षादीक्षा तथा बुहारीको जागिरको सुनिश्चितता भएमा केही राहत हुने थियो ।’ मधेशको माग पुरा भईदिए भाइको बलिदानीको सार्थकता हुने उनको भनाइ छ । साथमा रामनाथ यादव ।