• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी स्वास्थ्य संस्थाहरुद्वारा प्रहरी प्रशासनलाई असहयोग

सरकारी स्वास्थ्य संस्थाहरुद्वारा प्रहरी प्रशासनलाई असहयोग

राजविराज, १७ मंसिर । सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विहीबारदेखि सरकारी स्वास्थ्य संस्थाबाट प्रहरी प्रशासनबाट आउने घाउ जाँच केश फारम र मादक पदार्थ सेवन प्रमाणित नगर्ने घोषणा गरेको छ ।
पेशागत संघ सङ्गठनहरुको संयुक्त संघर्ष समिति सप्तरीका संयोजक डा. दीपा यादवले विहीवार प्रेस विज्ञप्ति मार्फत यस्तो घोषणा गरेका हुन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रहरी प्रशासनबाट भएको कुटपीट तथा अमानवीय व्यवहारको विरोध गर्दै जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरु बन्द गरी विगत ११ दिनदेखि धर्नामा बस्दैआएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले नागरिक समाज तथा मानव अधिकारवादीहरुको मध्यस्थतामा आफूहरुसँग भएको वार्ताको क्रममा स्वास्थ्यकर्मीहरुलाई कसले कुटेको हो ? छानबिन गर्नुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिएको तथा जिल्ला प्रहरी कार्यालयबाट घाइतेको घाउ जाँच केश फारम समेत गरी दिन नमान्नु भनेको आफूहरुको मागप्रति राज्य उदासिन रहेको अञ्चल अस्पतालकी निमित मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेकी डा. यादवद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
आफूहरुको माग तत्काल सम्बोधन नभए अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने तथा देशव्यापी रुपमा आन्दोलन गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ । आफूहरुको संघर्षलाई सहयोग तथा ऐक्यवद्धता जनाउने सम्पूर्ण टे«ड युनियन, नागरिक समाज, मानव अधिकारकर्मी, राजनीतिक दललगायतलाई प्रेस विज्ञप्ति मार्फत डा. यादवले धन्यवाद दिएकी छिन् ।
मंसिर ६ गते प्रहरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुटपीट एवम् दुव्र्यवहार गरेका थिए । त्यसको विरोधमा नियमित सेवाहरु ठप्प पार्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमै टेन्ट मुनि आकस्मिक सेवा सञ्चालन गर्दैआएका छन् । उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुको निलम्बन, घाइतेहरुको उपचार र शान्ति सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेर आन्दोलनलाई निरन्तरता दिँदैआएका छन् ।