• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कसरी ट्विस्ट गरियो लालु यादवका तीन ट्विटलाई

कसरी ट्विस्ट गरियो लालु यादवका तीन ट्विटलाई

 विहारका पूर्वमुख्यमन्त्री तथा विहार विधानसभाको सबभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले नेपालको उत्पीडित मधेसी जनता र जारी मधेस आन्दोलनको पक्षमा आफ्नो सद्भाव र समर्थन प्रकट गरेका छन् ।

भारतीय नेता यादवले मधेसी जनताविरुद्धको भेदभाव र सीमान्तीकरण रोक्न तत्काल पहल गर्न भारत सरकारलाई आग्रह समेत गरेका छन् ।

गत सोमबार अर्थात् नोभेम्बर ३० तारिखका दिन अंग्रेजीमा ट्विट गर्दै यादवले नेपालका मधेसी जनतामाथि जारी भेदभाव र सीमान्तीकरण रोक्न तत्काल पहल गर्न भारत सरकारसँग आग्रह गरेका हुन् ।

तराई मधेसको सीमावर्ती भारतीय राज्य विहारका एक जना सर्वाधिक शक्तिशाली नेताले मधेसको माग र आन्दोलनप्रति प्रदर्शन गरेको सद्भाव र समर्थनले मधेसवादी नेता र आन्दोलनकारी उत्साहित पारेका छन् ।

अर्कोतिर, मधेस आन्दोलन र मधेसी जनताका जायज मागको विपक्षमा रहेकाहरु भने यादवको अभिव्यक्तिबाट निराश भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी लगाएर मधेस आन्दोलनलाई समर्थन गरेको ठान्नेहरुले यादव मोदीका कट्टर विरोधी भएकाले मधेस आन्दोलन र कथित नाकाबन्दीको विपक्षमा उनको अभिव्यक्ति आउने अपेक्षा गरेका थिए ।

नेपालसँग सम्बन्ध बिगारेको दोष मोदीलाई

दुई पटक मुख्यमन्त्री र एक पटक केन्द्रीय रेलमन्त्री समेत भइसकेका यादवले नेपालसँग भारतको सम्बन्ध चिसिएकोप्रति भने चिन्ता प्रकट गरेका छन् ।

नेपाल र भारतबीच युगौंदेखि कायम रोटीबेटीको सम्बन्ध हालैका दिनमा बिग्रिएको उल्लेख गर्दै उनले सम्बन्ध बिगारेको दोष भने प्रधानमन्त्री मोदीको टाउकोमाथि थुपारेका छन् ।

नोभेम्बर ३० तारिखकै दिन अन्य दुई वटा ट्विट हिन्दीमा लेख्दै भारतीय नेता यादवले बडो तामझामका साथ मोदी नेपाल भ्रमणमा गएको, तर नेपालसँगको सम्बन्ध बिगारेको भन्दै मोदीको तीब्र आलोचना गरेका छन् ।

lauu-2

नेपालमा चीन छिरिरहेको भन्दै चिन्ता

विहारका पूर्वमुख्यमन्त्री यादवले उत्तरी छिमेकी चीनले नेपालमा आफ्नो प्रभावशाली उपस्थिति विस्तार गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हिन्दीमा लेखिएका दुई वटा ट्विटमध्ये एउटामा यादवले नेपालसँगको भारतको सम्बन्ध बिग्रिएपछि नेपालमा चीनको प्रभाव र उपस्थिति बढिरहेको उल्लेख गरेका छन् ।उनले नेपालसँग सम्बन्ध बिग्रिएपछि चीन नेपालमा छिरिरहेको तर मोदी विश्वभ्रमणमा रहेको कटाक्ष गर्दै भारतीय प्रधानमन्त्रीको अत्यधिक विदेश यात्राको श्रृंखलाप्रति पनि असन्तुष्टि पोखेका छन् ।

लालु अभिव्यक्तिको आशिंक र एकपक्षीय सम्प्रेषण

लालु यादवले नोभेम्बर ३० तारिखका दिन नेपालको सम्बन्धमा जम्मा तीन वटा ट्वीट गरेका छन् । ती तीनै ट्वीटमा यादवले मोदीले नेपालसँगको सदीयौं पुरानो सम्बन्ध बिगारेको र नेपालमा चीनको प्रभाव तथा उपस्थिति बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् भने मधेसी जनता तथा मधेस आन्दोलनप्रति सद्भाव एवम् समर्थन व्यक्त गर्दै मधेसीको माग सम्बोधनमा पहल गर्न भारत सरकारसँग माग गरेका छन् ।तर काठमाडौंबाट प्रसारित/प्रकाशित मिडियामा भने नेपालसँगको सम्बन्ध बिगारेकोमा मोदीको आलोचना गरिएको लालुको ट्विटलाई मात्र समाचार बनाएका छन् ।

एक घण्टाभित्रै गरिएका तीन वटा ट्विटमध्ये मधेसी जनताको मागप्रति लालुले जनाएको समर्थनलाई भने अधिकांश नेपाली मिडियाले पूरै नजरअन्दाज गरेका छन् । यस्तै, नेपालमा चीन छिरिरहेको भन्दै नेपालमा चीनको बढ्दो प्रभाव तथा उपस्थितिबारे लालुद्वारा व्यक्त गरिएको चिन्तासम्बन्धी ट्विटलाई अधिकांश नेपाली मिडियाले समाचार बनाएनन् । ई–समता डटकम