धनुषा १६, मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा बुधवार धनुषाको ढल्केवरमा विशाल विरोधसभाको आयोजना गरियो ।
सभामा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन ठुला दलहरुले वार्तालाई प्राथमिकता नदिएको भन्दै छिन–छिनमा कुरा फेर्ने गरेको बताए । वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडौंसँग मधेसको सम्बन्ध टुट्न सक्ने समेत उनले चेतावनी दिए । १सय ९ दिनको मधेस आन्दोलनपछि मात्र बल्ल तीन ठुला दलले मधेस मुलुकको लाइफ लाईन हो भने कुरा थाहा पाएको र वार्तालाई गम्भीरतापूर्वक नलिइए सम्बन्ध टुट्न सक्छ भन्ने कुरा बुझेको अध्यक्ष ठाकुरले बताए । झापादेखि कञ्चनपुरसम्मको भूभागलाई मधेस प्रदेशमा राखिनु पर्ने मोर्चाको बटम लाईन भएको उल्लेख गर्दै तमलोपा अध्यक्ष ठाकुरले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गराएको संशोधन विधेयक मधेसी मोर्चाको मात्र नभई सिङ्गा देशकै लागि भएको बताए । आफूहरुको प्राथमिक माग सीमांकन भएको समेत प्रष्ट पारे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय छापा तथा विद्युतीय संचारमाध्यमहरुप्रति आक्रोश व्यक्त गरे । शब्दकोषमा नेपाल र नेपाली शब्दको प्रवेश हुनुभन्दा पहिले मधेसमा मिथिला, अवध आदि देश अस्तित्वमा रहेको उनले चर्चा गरे । नेपालका केही पूर्व प्रधानमन्त्रीहरुले भारत भ्रमणको क्रममा आफूहरु भारतमा जन्मेका, आफ्ना पुर्खाहरु भारतबाट नेपाल गएका विषयलाई गौरवपूर्वक वर्णन गर्ने गरेको तर उनीहरु नेपाल छिर्ने बित्तिकै मधेसीलाई भारतीय भन्ने गरेको अध्यक्ष यादवले बताए । केपी शर्मा ओली नेतृत्वको सरकार ‘नस्लवादी’ चिन्तनबाट ग्रसित रहेको बताउँदै उनले भने ‘जुम्ला र सुर्खेतमा भएको आन्दोलनलाई बिनावार्ता सम्बोधन गर्ने अनि मधेस आन्दोलनको क्रममा ५४ जनाले सहादत दिए पनि कान नसुन्ने सरकार र दलहरुलाई नस्लवादी किन नभन्ने ?’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शान्तिपूर्ण आन्दोलनबाटै मधेसको माग सम्बोधन हुने विश्वास व्यक्त गरे । केपी शर्मा ओली, सुशील कोइराला र पुष्पकमल दाहाल आन्दोलनकै भाषा बुझ्ने गरेको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । उनले भने ‘तीन ठूला दललाई ग्यास र पेट्रोलको चिन्ता छ तर हामीलाई भने अधिकारको ।’
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आन्दोलनबाटै अधिकार प्राप्त हुने भन्दै‘यसपटकको आन्दोलन नगदीमा सम्झौता हुने बताए । विरोध सभामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा सर्लाहीबाट हजारौं जनसमुदायको सहभागिता रहेको थियो ।