अञ्चल अस्पतालमा आन्दोलनबारे छलफल
राजविराज, १५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार हिटलर तानाशाह प्रवृतिभन्दा पनि खतरनाक रहेको भन्दै शान्तिपूर्ण आन्दोलनबाटै घुँडा टेकाउने बताएका छन् ।
राजविराज स्थिति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रहरीले गरेको कुटपीट तथा आन्दोलनप्रति ऐक्यवद्धता जनाउने क्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । तानाशाह नश्लवादी चिन्तनबाट ग्रसित वर्तमान सरकारले क्रुर दमनको ताण्डव मच्चाईरहेको प्रष्ट पार्दै उनले भने ‘यो सरकार हिटलर तानाशाह प्रवृतिभन्दा पनि खतरनाक छ, यसको अन्त्य चाँडै हुने निश्चित छ ।
जस्तोसुकै युद्धग्रस्त देशहरुमा समेत स्वास्थ्य क्षेत्र सुरक्षित रहने गरेकोमा अञ्चल अस्पतालभित्र पसेर प्रहरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि क्रुर अमानविय तरिकाबाट गरिएको कुटपीट घोर निन्दनीय एवम् अक्षम्य अपराध भएको फोरम अध्यक्ष यादवले बताए । सरकारले वार्ता गर्न नै नचाहेकोले विभिन्न बहाना बनाएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ता निष्कर्ष विहिन बन्दैआएको प्रष्ट्याउँदै उनले भने ‘राज्यले समस्या समाधान गर्न चाहेको भए उहिले नै माग पुरा भएर स्थिति सहज भइसकेको हुन्थ्यो तर प्रमुख तीन दल बीच ठोस धारणा नै नल्याई वार्ताको नाममा नौटंकी मात्र गरिरहेको छ । उक्त अवसरमा फोरमकी केन्द्रीय उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अनिरुद्ध प्रसाद सिंह, जिल्ला अध्यक्ष दिनेश कुमार यादवसहितका नेताहरुको सहभागिता रहेको थियो । अध्यक्ष यादवले आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरुको परिवारजनसँग भेंटघाट गरेका छन् ।
पेशागत संघ–संगठनहरुको संयुक्त संघर्ष समितिले आन्दोलनको ९ औं दिन वितिसक्दा पनि माग सम्बोधन नभएपछि राजनीतिक दल, मधेशी मोर्चा, पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज, पेशागत संघ–संगठनका प्रतिनिधीहरुसँग सल्लाह सुझावकालागि कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, बौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झा, मधेश निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष विनोद कुमार सिंह, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, नागरिक सञ्जालका संस्थापक संयोजक सुखराम यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, एनेकपा माओवादीका असर्फी सदा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, मधेशी मोर्चाका नगर संयोजक उमेश कमाण्डो, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष मनोज कुमार मण्डललगायतले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
उक्त सर्वपक्षीय छलफल कार्यक्रममा संघर्ष समितिकी संयोजक समेत रहेकी अञ्चल अस्पतालकी निमित मेसु डा. दीपा यादव, पूर्व मेसु डा. मुरली प्रसाद सिंह, डा. टेकनारायण मण्डल, डा. डिकनाथ यादव, गाविस हक हीत संरक्षण केन्द्रका केन्द्रीय उपाध्यक्ष रामकुमार यादवलगायतको उपस्थिति रहेको थियो । अस्पतालको घटनाबारे स्वास्थ्यकर्मी निरञ्जन यादव, सुनिलकुमार यादवले जानकारी गराएका थिए । छलफलका सहभागीहरुले आन्दोलनलाई थप सशक्त बनाउन सुझाव दिएका थिए ।