राजविराज, १५ मंसिर । सप्तरी जिल्लामा विगत दिनयता भएका प्रहरी दमनका घटनाहरुको विरोध जनाउँदै सप्तरीका बुद्धिजिवीहरुले मौन जुलुस प्रदर्शन गरेका छन् ।
बौद्धिक समाजद्वारा राजविराज स्थित हरिनन्देश्वर मन्दिर प्राङ्गणबाट निकालिएको मौन जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात शहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । समाजका संयोजक अमरकान्त झाको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले मानव अधिकारको घोर उल्लंघन गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निहत्था नागरिकमाथि क्रुरतापूर्वक गोली चलाएर ज्यान लिएको बताउँदै उनले भने ‘सरकार नरसंहार बन्द गरी वार्ता र सम्वादबाट समस्याको निकास खोजिनुपर्दछ ।
जारी मधेश आन्दोलन मधेशी जनताको हक अधिकार सुनिश्चितताका साथै पहिचान, स्वायतता एवम् समान सहभागिताको आन्दोलन भएको प्रमुख अतिथि मण्डलले बताए । तीन ठूला पार्टीले जिम्मेवार भएर मधेशको मागलाई अबिलम्ब सम्बोधन गरेर देशलाई सम्भावित संकटबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।
श्रद्धाञ्जलीसभामा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डल, प्रा. गजेन्द्र प्रसाद सिंह यादव, पूर्व जिएम तेजकान्त झा, पूर्व प्राचार्य नथुनी दास, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, मानवअधिकारकर्मी धर्मदेव यादव, पूर्व ड्याडो विशेश्वर यादव, मधेशी मोर्चाका नगर संयोजक उमेश साह कमाण्डो, ई. सुगम्बर यादव, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा लगायतले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भएको प्रहरी दमनको भत्र्सना गर्दै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन रामकिसुन यादवले गरेका थिए ।