राजविराज, ११ मंसिर । मधेशी विद्यार्थी फोरमका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश कुमार यादवले आफूलाई गत सोमवार प्रहरीले बिना कारण निर्घात कुटपीट गरेको भन्दै दोषी प्रहरीलाई कार्वाहीको माग गरेका छन् ।
फोरमद्वारा शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो माग गरेका हुन् । संघीय समाजवादी फोरम नेपाल निकट विद्यार्थी फोरमका नेता यादवले आफू ग्यालेक्सी कलेजको बाटो भएर साह धर्मशालामा आयोजित बैठकमा सहभागी हुनका लागि जाने क्रममा सशस्त्र र नेपाल प्रहरीको टोलीले लाठी र बुटले निर्धात कुटपीट गरी पाखुराको हड्डी समेत भाँचिदिएको बताए ।
आफू बैठकमा सहभागी हुन गइरहेको भनी जानकारी गराउँदा पनि कुटपीट गरेर बेहोस पारिदिएको देखेपछि स्थानीय महिलाहरु प्रहरीको क्रियाकलाप विरुद्ध उत्रेपछि मात्र आफूलाई छाडेको जानकारी दिँदै उनले भने ‘महिलाहरु यदी त्यो अवस्थामा बँचाउन नआएको भए शायद मलाई प्रहरीहरुले बाँच्न दिने थिएन । तत्कालै उपचारकालागि धरान वा बिराटनगर लैजानकालागि एम्बुलेन्स खोजी गर्दा नपाएपछि मोटरसाइकलमै बसाएर आफूलाई सोमवार नै भारतको दरभङ्गा लगिएको उनले बताए । दरभङ्गामा दुई दिन लगाएर ब्याण्डेज गराएर विहीबार मात्र उपचार गराएर घर फर्केको पत्रकारहरुलाई उनले जानकारी दिए ।
हड्डी भाँच्चिएका विद्यार्थी नेताले प्रहरीद्वारा बिना कारण आफूसँग यस्तो निकृष्ट व्यवहार गर्ने दोषी प्रहरीलाई कार्वाहीको माग गरेका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले सर्वसाधारण जनतामाथि गोली चलाउनुकासाथै निर्घात कुटपीट गरी क्रुर दमन घोर अमानवीय क्रियाकलाप भएको भन्दै यस्ता क्रियाकलाप तत्काल रोक्न तथा यस्ता अमानवीय घटनाहरुको विषयमा सत्यतथ्य छानबिन गर्न समेत सप्तरीको खडकपुर–६ अमरैया निवासी विद्यार्थी नेता यादवले जोडदार माग गरेका छन् ।
सोही पत्रकार सम्मेलन संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवले राज्यका सुरक्षा संयन्त्र आतंककारी शैलीबाट अगाडि बढिरहेको भन्दै यसलाई तत्काल नरोके साम्प्रदायिक दङ्गा भड्काउनसक्ने आशंका व्यक्त गरेका छन् । विशेष सुरक्षा निती जारी आन्दोलनलाई बन्दुकको बलमा दबाउने नियतका साथ ल्याइएको भन्दै त्यसले आन्दोलनमा कुनैअसर नपर्ने उनले बताए ।
प्रहरीद्वारा नै आन्दोलनकारीहरुलाई मोदीका छोरा भनेर अपमान गरेको प्रष्ट्याउँदै उनले भने ‘राज्यपक्षले विभिन्न नाम तथा आवरणमा दङ्गा भड्काउने षडयन्त्रमा लागेकोले त्यस्ता गतिविधीहरुबाट आम जनता सचेत रहनु जरुरी छ । ‘आफूहरुको शान्तिपूर्णमा आन्दोलनमा क्रुर दमन नरोकिए लाठी फट्ठाले भए पनि हामी आत्मरक्षा गर्न बाध्य हुन्छौं’ नेता यादवले भने ‘ईटहरी र बिराटनगरमा भएका घटनाहरु एमालेका गुण्डाहरुद्वारा गराइएको हो, अन्य स्थानहरुमा समेत यस्ता गतिविधी भइरहेकोले त्यस्ता तत्वहरुलाई जवाफ दिन हामीहरु पनि तयार छौं ।’
पत्रकार सम्मेलनमा विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादवले आन्दोलनका क्रममा सप्तरी प्रहरीले पक्राउ गरेका पाँच जनालाई अबिलम्ब रिहा गर्नुपर्नेमा हालसम्म नछाडिएको भन्दै आक्रोश व्यक्त गरे । उनले मधेशी मोर्चासँग गरेको प््रतिवद्धता अनुसार तत्काल उनीहरुलाई रिहा गर्न माग गरेका छन् । कार्यक्रममा रिता शर्मालगायतले प्रहरी दमनको कडा विरोध जनाएका छन् ।