राजविराज, १० मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस, एमाले र एमाओवादीले सिमाङ्कनसहितका मागहरुको विषयमा साझा र स्पष्ट धारणा बनाएर नआएसम्म वार्ताको औचित्य नरहने बताएका छन् ।
राजविराज जेसिज भवनमा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । वार्ताका नाममा राज्यपक्षले झुठा नाटक गरेर जारी ऐतिहासिक मधेश आन्दोलनलाई कमजोर बनाउन खोजिएको प्रष्ट पार्दै उनले भने ‘शुरुका केही समय हामीहरु वार्तामा नजाँदा वार्तामा आउन नचाहेको भनेर सरकारले गलत प्रचारबाजी गर्न थाले तर जब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा वार्तामा आए तब तीन ठूला दलले हालसम्म वार्ताको नाममा नौटंकी गर्दैआएको छ ।
वर्तमान सरकारले कुर्सी टिकाई राख्नकालागि देशलाई निकास दिनका लागि गम्भीर हुनुको साटो भारत विरोधी अनावश्यक कुराहरु गरेर जनतालाई दिग्भ्रमित गर्ने काम गरिरहेको उनले बताए । वर्तमान सरकारलाई देश र जनताको चिन्ता छैन, कुर्सी टिकाउने चिन्ता मात्रै छ’ सद्भावना अध्यक्ष महतोले भने ‘कुर्सी टिकाउनकै लागि केपी शर्मा ओली नेतृत्वको सरकार देशमा गृहयुद्धमा धकेल्ने प्रयास गरेको छ ।’
आमजनतालाई अनावश्यक दुःख दिने काम वर्तमान सरकारले गरिरहेको भन्दै उनले खोक्रो राष्ट्रवादको नाममा भारतलाई गाली गरेर जनतालाई दिग्भ्रमित गर्न खोजेको बताए । भारतसँगको कुटनीतिक सम्बन्ध बिगारेर आमजनतालाई अनावश्यक दुःख दिन खोजेको आरोप लगाउँदै नेता महतोले भने ‘ओली सरकारले उल्टो दिन गिन्ती गर्दा हुन्छ, जनतालाई राहत होइन, आहत दिने सरकारलाई कुर्सीमा बसिरहनुको औचित्य छैन ।
मधेशमा जारी अधिकारप्राप्तिको आन्दोलनमा पहाडी समुदायलाई समेत सहयोग पुर्याउन आग्रह उनले आग्रह गरे । मधेशमा सयौं वर्षदेखि पहाडी र मधेशी मिलेर बस्दैआएको चर्चा गर्नुहुँदै नेता महतोले पहाडी र मधेशी एक–अर्काको परिपुरक भएकोले वर्तमान आन्दोलनमा समेत सँगै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
विश्वकै सबभन्दा लामो आन्दोलनमा पनि मधेशमा पहाडी र मधेशी बीच सद्भाव भड्किने खालका कुनै किसिमको गतिविधी नभएको प्रष्ट्याउँदै उनले भने ‘ यो आन्दोलन पहाडी र मधेशी बीचको आन्दोलन होइन, २५० वर्षदेखिको शोषण र विभेदबाट मुक्ति पाउने आन्दोलन हो बरु यो आन्दोलनलाई राज्यले साम्प्रदायिक रङ्ग दिन खोजेको छ ।’ पहाडमा भूकम्प जाँदा भएको ठूलो जनधनको क्षति भएको अवस्थामा तीन दिन पनि नबित्दै पहाडी जनताको आँसु पुछ्न राहत लिएर पुगेको स्मरण गर्दै यतिबेला मधेशी जनताले शान्तिपूर्ण आन्दोलन गरिरहँदा राज्यपक्षले चरम दमन गरेर नरसंहार गरिरहेकोले पहाडी समुदायले पनि मुख खोल्नुपर्ने आवश्यकता औंल्याए ।
हालै सरकारले मधेशमा लागु गर्न खोजेको विशेष सुरक्षा निती जनतासामु एक मिनेट पनि नटिक्ने बताउँदै उनले भने ‘बन्दुकको बलमा राजा ज्ञानेन्द्रको ९३ हजार सेनाले जनतासामु टिक्न सकेन, जनतासामु दमन गर्ने कुनै पनि निती टिक्न सक्दैन ।’
मधेशी जनताको मत पाएर काँग्रेस एमाले, एमाओवादी लगायतका पार्टीका दुई सय मधेश सभासद्ले संविधानमा हस्ताक्षर गरेर मधेशी जनताको अधिकारको हत्या गरेको नेता महतोले बताए । जनताको मत लिएर जनतासँग नै गद्दारी गर्ने गने जनप्रतिनिधीहरुलाई जनताले नै सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा उनले जोड दिए ।