राजविराज, १० मंसिर । गतवर्ष मंसिर १० गते काठमाण्डौको सुन्धारा क्षेत्रबाट स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसहित पाँच सय जनाभन्दा बढीलाई कालो रंगकै आधारमा गिरफ्तार गरेको दिनको स्मरण गर्दै गठबन्धनले सप्तरीसहित मधेशका जिल्लाहरुमा भव्यताका साथ वार्षिकी मनाएका छन् ।
स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय समितिको आह्वानमा विहीबार मधेससहित विभिन्न स्थानहरुमा शान्तिपूर्ण जुलुस तथा सभाको आयोजना गरिएको हो । रंगभेदी गिरफ्तारीको वार्षिकीका अवसरमा सयौंको संख्यामा सहभागी युवाहरुले गजेन्द्र चौकमा गठबन्धनको पोषाक र झण्डासहित जुलुस निकालेका छन् । ‘स्वतन्त्र मधेश अप्पन देश, मधेशमे मानव नरसंहार बन्द कर, नेपाली सेना फिर्ता कर’ सहितका नाराहरु लगाउँदै उक्त जुलुस राजविराजको विभिन्न भाग परिक्रमा पश्चात पुनः गजेन्द्र चौकमै पुगी सभामा परिणत भएको थियो ।
गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित शान्तिपूर्ण सभामा पूर्व सभासद् महेश प्रसाद यादव, मो. उस्मान, हरिनारायण साह, चन्द्रनारायण यादव, प्रभात कुमार साह, श्रवण शर्मालगायतले सम्वोधन गरेका छन् । यसै सप्तरीका वीपी मावि भारदहलगायतका स्थानहरुमा शान्तिपूर्ण प्रदर्शन तथा सभाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।
प्रेस-विज्ञप्ति – २०७२ साल मंसीर १० गते
१०० भन्दा बढी डा. सी. के. राउत समर्थक गिरफ्तार; प्रहरी दमनमा आधा दर्जन घाइते
बिहीबार विभिन्न जिल्लामा डा. सी. के. राउतका समर्थकहरुले गरिरहेको प्रदर्शनका क्रममा नेपाल प्रहरीले १०० भन्दा बढी समर्थकहरुलाई गिरफ्तार गरेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार काठमाडौंमा संयुक्त राष्ट्रसंघको भवन अगाडिबाट ३१, सिरहाबाट ७०, रौतहटबाट १२, बाराबाट ४ र पर्साबाट १ जनालाई गिरफ्तार गरिएको छ। विराटनगर र लहानमा प्रहरीले बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करीब आधा दर्जन कार्यकर्ताहरू घाइते भएका छन् भने प्रहरीले लाउडस्पीकर, साउन्डबक्स र दुई साइकिल समेत खोसेर लगेका छन्। प्रदर्शनकारीहरुले ‘रंगभेदको अंत गर’, ‘औपनिवेशिक शासन अंत गर’, ‘मधेश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए। यसभन्दा अगाडि मंगलबार समेत बाराबाट यही कार्यक्रमको विषयमा बैठक गरिरहेको बेलामा ब्रजेश कुमार सिंह, सदाम अंसारी, विनोद शर्राफ र बिटू साहलाई गिरफ्तार गरेका थिए जसलाई अझै सम्म रिहा गरिएको छैन।
२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यही मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै ‘रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने निर्णय गरेको थियो।
शांतिपूर्ण रुपले प्रदर्शन गर्दा समेत नेपाल प्रहरीद्वारा गरिएको यस गिरफ्तारीको गठबन्धन घोर-भर्त्सना गर्दछ र सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गर्दछ।
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन,