शनिवार शवयात्रा पश्चात अन्त्येष्टि गरिने छः मोर्चा
राजविराज, १० मंसिर । आन्दोलनका क्रममा गत शनिवार र आइतवार प्रहरीको गोलीबाट मृत्यू भएकाहरुको दाह–संस्कार शुक्रवार हुने भएको छ ।
मधेशी मोर्चाले अघि सारेको माग अनुसार जिल्ला सुरक्षा समितिले निर्णय गरेर कार्यान्वयनका लागि गृह मन्त्रालय पठाएपछि शवको अन्तिम संस्कार हुने निश्चित भएको हो । सप्तरीको भारदह रुपनी र राजविराजमा आन्दोलनका क्रममा मृत्यू भएकाहरुलाई सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाहरुको लागत संकलन गरी निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरी मन्त्रालय पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन् । शव बुझ्ने प्रक्रिया विहीवारै अगाडि बढी सकेको भन्दै स्थिति सहज बनाउनमा सहयोग पुर्याउन उनले आम जिल्लावासीसँग आग्रह गरेका छन् ।
राजविराज–१ निवासी ३८ वर्षिय सहीद दिलिप कुमार साह, डाढा–७ का २२ वर्षीय विरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकीका २७ वर्षिय नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका १८ वर्षीय सहीद शिवशंकर दासको शव सदरमुकाम राजविराज ल्याएर विभिन्न स्थानहरुमा शनिवार शवयात्रा गराएर अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाईने मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाले जानकारी दिएका छन् ।चारैजनाको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 
सिडियो बङ्गलामा विहीवार प्रमुख जिल्ला जिल्ला अधिकारी भट्टको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णयहरु गरेको हो । बैठकमा नेपाली सेनाका गणपति भुवनेश्वर आचार्य, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक दमन थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, राष्ट्रिय अनुसन्धानका प्रमुखसमेतको सहभागिता रहेको थियो ।
यसअघि सुरक्षा समितिले मधेशी मोर्चा सम्वद्ध राजनीतिक दलका नेता, मानवअधिकारकर्मी, पत्रकार, कानूनव्यवसायीसमेतसँग स्थितिलाई सहज बनाउन, शवको अन्तिम संस्कारलगायतका विषयमा छलफल गरेका थिए ।
उक्त छलफलम मधेशी मोर्चासँग आवद्ध नेताहरुले आन्दोलनका क्रममा मृत्यू भएका चारैजनालाई सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ती, पक्राउ परेकाहरुलाई बिना शर्त रिहाई, गोली चलाएर निर्मम दमन गर्ने प्रहरीलाई कार्वाहीलगायतका मागहरु जोडदार रुपमा उठाएका थिए । मोर्चाका सप्तरी संयोजक सुनिलकुमार झाको नेतृत्वमा छलफलमा सहभागी टोलीले अघि सारेका माग कार्यान्वयन गर्ने प्रतिवद्धता सुरक्षा समितिले गरेका थिए ।