राजविराज, ९ मंसिर । नियमित कामकाज ठप्प पार्दै सप्तरीका चिकित्सक, स्वास्थ्यकर्मीसहित कर्मचारीहरुले बुधवार राजविराजमा शान्तिसुरक्षाको माग गर्दै प्रदर्शन गरेको छन् ।
प्रहरी राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गरी कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्घात कुटपीट गरेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरु सम्मिलित उक्त जुलुस राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो ।
जुलुसका सहभागीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुटपीटमा संलग्न दोषीलाई कार्वाही गर, अस्पतालमा प्रहरी प्रशासनको दमन बन्द गर, स्वास्थ्य क्षेत्रमा शान्ति सुरक्षाको ग्यारेन्टी गर लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरेका छन् । 
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा मङ्गलवारदेखि ठप्प पारेर अस्पताल परिसरमै पालमुनि आकस्मिक प्रदान गरिँदैआएको छ । यता जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा मङ्गलवारदेखि पूर्ण रुपमा ठप्प रहेको छ । स्वास्थ्यकर्मी कुटपीट विरुद्ध ल्याब, एक्स–रे लगायत निजी क्लिनिकहरु समेत बन्द रहेको छ । 
यता अञ्चल अस्पतालसहित जिल्लाभरी स्वास्थ्य सेवा पारिनुले सर्वसाधारण जनता मारमा परेको भन्दै तत्काल सुचारु गर्न आवश्यक पहल थाल्न नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले आग्रह गर्नुभएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीहरुलाई धरान, बिराटनगर लगायतका स्थानहरुमा रेफर गर्ने गरिएकोले एम्बुलेन्ससम्म नपाउँदा सर्वसाधारण जनतालाई समस्या भइरहेको उनले बताए । आन्दोलनरत पक्षसँग वार्ता गरी तत्काल अस्पताल लगायत स्वास्थ्य सेवा सुचारु गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।