• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वतन्त्र मधेश गठबन्धनका नेता पक्राउको भत्र्सना

स्वतन्त्र मधेश गठबन्धनका नेता पक्राउको भत्र्सना

राजविराज, ८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय नेतासहित चारजनालाई प्रहरीले मङ्गलवार दिउँसो बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्लाको गढीमाई धर्मशालाबाट जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गठबन्धनका केन्द्रीय नेताहरु ब्रजेश सिंह, सद्दाम हुसेन, बिनोद सर्राफ र स्वराज अभियानका दिपु साह साह रहेका छन् । स्वतन्त्र मधेश गठबन्धनको विषयमा छलफल गरिरहेको अवस्थामा नेताहरुलाई पक्राउ गरिएको एसएन मण्डलले जानकारी दिएका छन् ।
यसैबीच गठबन्धनका सह–संयोजक कैलाश महतोले मङ्गलवारै एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार गर्नु पूर्व बैठक बसिरहेकै कोठामा सहभागी करीब ३० जनालाई नेपाल प्रहरीले १ घंटा भन्दा बढी समय थुनेर राखेको जनाएका छन् । केही समयपछि मात्र भ्यान बोलाएर ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारा लगिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ४ सय भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको स्मरणमा गठबन्धनले विभिन्न जिल्लाहरूमा मंसीर १० गते प्लाकार्डसहित शांतिपूर्ण प्रदर्शन गर्दै ’रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने विषयमा छलफल गर्न बैठक बोलाईएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शांतिपूर्ण रुपले घरभित्र बैठक समेत बस्न नपाउने गरी नेपाल प्रहरीद्वारा गरिएको गिरफ्तारीको गठबन्धन घोर भत्र्सना गर्दै सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तराष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस्ता कार्यको विरोधमा सशक्त आवाज उठाई दिन गठबन्धनले अनुरोध गरेको छ ।