राजविराज, ७ मंसिर । निर्दोष व्यक्तिमाथि प्रहरीले गोली चलाएर हत्या गरेको भन्दै हलुवाइ समाज नेपालले घोर भत्र्सना गर्दै उक्त घटनाको न्यायिक छानबिन गर्न माग गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष शिवनारायण साहले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । आइतवार सबजेको समयमा राजबिराज नगरपालिका वडा नम्वर १ हटिया स्थित आफ्नै निवासमा पत्नी र ४ जना छोराछोरीसँगै बसेर टि.भी. हेरिरहेको अवस्थामा मेनरोडबाट ताकेर प्रहरीले गोली चलाएको विज्ञप्तिमा उल्लेख छ । निधारमा गोली लागेर ३८ वर्षिय दिलिप कुमार साहको हत्या भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
मृतककी दश वर्षिया छोरी मुस्कान साह समेत दुवै हातमा गोली लागेर घाइते भएको भन्दै केन्द्रीय अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यसरी घरमा बसेको निर्दोष व्यक्तिमाथि राज्यद्वारा चलाइएको गोली लागेर भएको हत्याको हलुवाई समाज नेपाल घोर निन्दा एवम्् भत्र्सना गर्दछ ।’
उक्त जघन्य घटनाको विरोधमा सोमवार हलुवाई समाज नेपालले सम्पूर्ण व्यवसायीहरुलाई आ–आफ्नो व्यवसाय एक दिनको लागि बन्द गरेर सरकारको विरोध गर्न आह्वान समेत गरेको थियो । उक्त घटनाका दोषी उपर कडा कार्वाही गरी पीडित परिवारलाई क्षतिपूर्ति र न्यायको लागि हलुवाई समाज नेपालले राज्यपक्षसँग जोडदार माग गर्दै राजनीतिकर्मी, पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाजसँग पीडित परिवारलाई क्षतिपूर्ती र न्यायिक छानबिनको लागि सहयोग प्रदान गर्न
समेत अनुरोध गरिएको छ । हलुवाई समाज नेपालले सहीद दिलिपकुमार साह हलुवाईको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरोस् भने ईश्वरसँग प्रार्थाना समेत गरेको विज्ञप्तिमा जनाईको छ ।