राजविराज, ७ मंसिर । सप्तरी सदरमुकाम राजविराज विगत दुई दिनदेखि रणभूमीमा परिणत भएको छ ।
पूर्व–पश्चिम राजमार्ग सुचारु गराउने क्रममा प्रहरीद्वारा गरिएको घोर अमानवीय दमन पछि राजविराजमा झन तनावग्रस्त बन्न पुगेको हो । आइतवार विहान प्रहरीले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गरेर चिकित्सक, कुरुवासहित स्वास्थ्यकर्मी तथा निजी क्लिनिकहरुमा समेत पसेर कुटपीट गरेपछि स्थानीय युवाहरु थप आक्रोशित बनेका थिए । उनीहरुले प्रहरीलाई लक्षित गरी ढुङ्गामुढा गर्न थालेपछि राजविराजमा प्रहरी र प्रदर्शनकारी बीच झडप निरन्तर चल्दैआएको छ ।
आइतवार दिनभरी अञ्चल अस्पताल गेटदेखि गजेन्द्र चौकसम्मको क्षेत्र रणभूमी जस्तै देखियो । सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रहरीलाई लक्षित गरेर ढुङ्गामुढा गरिरहे भने प्रहरी करिब पाँच सय राउण्ड अश्रृग्याँस, सयौं राउण्ड गोली समेत चलाईरहे । प्रहरीले फायर गरेको अश्रृँग्यासले गर्दा नगरवासीलाई निस्सानिपर्ने अवस्था वरण गर्नुपयो । यहाँसम्म कि सडक छेउँका बासिन्दाहरुका घरमा रहेका साना–साना नानीहरु अश्रुँग्यासको धुवाले गर्दा चिच्याउने, मुखबाट ¥याल बग्ने जस्ता समस्या भोग्न बाध्य भए ।
साँझ करिब ४.३० बजेको समयमा आफनै घरको दोस्रो तल्लाको कौसीमा छोरीसँग खेलिरहेका राजविराज–१ निवासी ३८ वर्षिय दिलिप कुमार साहको टाउकोमा प्रहरीले गोेली हाने । उनी तत्क्षण नै भुइँमा ढल्न पुगे । छोरी मुस्कानलाई समेत गोली छर्रा लागेको उनी चिच्याउन थालिन् । अस्पताल लगिने क्रममा आइतवारै साँझ साहको मृत्यू भयो । 
आफ्नै भवनको भुइँतल्लामा जेनरल स्टोर खोलेर परिवार धान्दैआएका साहको मृत्यू भएको खबर पछि सदरमुकाम राजविराज थप अशान्त बन्न पुगेको छ । आक्रोशित व्यवसायीहरुका साथै आम नगरवासीहरु विहानैदेखि चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन जारी राखेका छन् ।
यसअघि भारदहमा शनिवार राती प्रहरीले चलाएको गोलीबाट डाढा–७ का २२ वर्षीय विरेन्द्र राम, रुपनीमा जमुनी मधेपुरा–९ छपकीका २७ वर्षिय नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका १८ वर्षीय शिवशंकर दासको मृत्यू तथा दर्जनौं आन्दोलनकारीहरु घाइते भएपछि सप्तरीवासी झन् आक्रोशित बन्न पुगेका छन् । स्थानीय प्रशासनले राजविराजको डा. अशोकानन्द मिश्रको क्लिनिकदेख शहीद दशन चौकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरे पनि सयौंको संख्यामा रहेका मधेशी मोर्चाका नेता, व्यवसायीसहित आमनगरवासीहरुले निषेधित क्षेत्रलाई अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनका क्रममा सहीद दशन चौकदेखि मिनी मार्केटसम्म व्यापक संख्यामा परिचालित प्रहरी र गजेन्द्र चौकमा रहेका प्रदर्शनकारीहरु बीच दोहोरो झडप जारी रहेको छ । आन्दोलनकारीहरुलाई लक्षित गरी प्रहरीले दर्जनौं राउण्ड अश्रँृग्यास फायरिङ्ग गरेका छन् । 
प्रहरीको कुटाईबाट तीन घाइते
यता प्रहरीको कुटाईबाट तीन जना घाइते भएका छन् । नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीको घरमा पाहुना आएका करिब ३० वर्षिय नरेन्द्र दुगड घाइते भएका छन् । ईटहरी–१ घर भएका उनलाई घरमा बसिरहेको अवस्थामा प्रहरीले घरभित्र पसेर निर्घात कुटपीट गरेका हुन् । लाठी प्रहारबाट उनको टाउँको फुटेको छ ।
यस्तै राजविराज–६ का २५ वर्षिय मनोज यादव र राजविराज हटियाका सोनु भनिने गौरव साह घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ ।