राजविराज, ५ मंसिर । मधेशी मोर्चा सप्तरीको आह्वानमा राजमार्ग पूर्ण रुपमा अवरुद्ध पार्न हज्जारौं आन्दोलनकारीहरु लाठी–फट्ठासहित राजमार्गमा उत्रेपछि स्थानीय प्रशासनले सुरक्षा अवस्था कडा पारेको छ ।
राजमार्ग क्षेत्रमा सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भ्यानसहित पेट्रोलिङ्ग टोली समेत खटाइएको छ । स्थानीय प्रशासनले यसअघि गरेको निषेधित क्षेत्रलाई निरन्तरता दिँदै राजमार्गमा साँझ माइकिङ्ग समेत गरेको छ ।
सप्तरीको भारदह, रुपनीलगायतका स्थानहरुमा साँझ ७ बजेदेखि लागु हुने गरी पूर्वमा कोशी व्यारेजदेखि पश्चिम बलान नदीको पुलसम्मको पूर्व–पश्चिम लोकमार्ग र कदमाहादेखि पन्ध्र कट्ठे सडकसम्मको सडकखण्ड र दुवै सडकखण्डको दायाँ पाँच सय मिटर र बायाँ पाँच सय मिटर दुबैतर्फको ईलाकालाई अर्को आदेश नभएसम्मकालागि हरेक दिन साँझ ७ बजेदेखि विहान ७ बजेसम्म कायम रहने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा कायमै रहँदैआएको सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोष्टर टाँस्न, लेख्न तथा उक्त क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरु जम्मा हुन निशेध गरिएको जनाइएको छ । उक्त आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गर्न सुरक्षा फौज बाध्य हुने स्थानीय प्रशासनले जनाएको छ ।