राजविराज, ५ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलन थप सशक्त बनाउने क्रममा हज्जारौ जनमानसका साथ पूर्व–पश्चिम लोकमार्गमा उत्रेका छन् ।
पूर्व घोषित कार्यक्रम अनुसार जिल्लाको भारदह, रुपनी, बिसनपुर, कदमाहालगायतका स्थानहरुमा साँझदेखि प्रदर्शन जारी रहेको छ । राजमार्ग र नाका केन्द्रित आन्दोलनलाई सशक्त बनाउने क्रममा जिल्लाको भारदहमा करिब १० हजारको संख्यामा आम जनता सडकमा उत्रेको स्थानीय सम्वाददाता रामसेवक यादवले जानकारी दिएका छन् ।
भारदह, पोर्ताहा, मधवापुर, बरमझिया, धनपुरी, बरमझिया, त्रिकौल, हनुमाननगर, १ नम्वर योगिनियाँ, दुई नम्वर योगिनियाँ, कञ्चनपुर, डिमन, लोहजरा, ठेलिया लगायतका गाउँहरुबाट सर्वसाधारण जनता आन्दोलनमा सहभागी भएका छन् । मोर्चाको आह्वानमा आन्दोलनमा उनीहरु गाउँ–गाउँबाट लाठी–फट्ठासहित सहभागी भएका छन् ।
मोर्चाका नेता तथा आमजनसमुदायको सहभागितामा निकालिएको लाठी–फट्ठा जुलुश भारदह पोर्ताहा बजारको विभिन्न भाग परिक्रमा गरेका छन् । राजमार्ग पूर्ण रुपमा ठप्प
हुनेगरी राती समेत सहीद चौकमा जाग्राम बस्ने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी दिए । यसअघि समेत पटक–पटक राजमार्ग अवरुद्ध गर्दा स्थानीय प्रशासनले व्यापक संख्यामा प्रहरी परिचालन गरी दमन गर्दैआएको यसपटक व्यापक तयारीका साथ हज्जारौंको संख्यामा जनमानस सडकमा उत्रेको उनले बताए ।
भारहमा आन्दोलनकारीहरुले प्रदर्शन गरिरहँदा बीचबाट गइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरको ना १ झ १२५४ नम्वरको गाडीमा समेत आन्दोलनकारीहरुले तोडफोड गरी क्षति पुर्याएका छन् । प्रहरी भ्यानको सिसा फुटेको जनाइएको छ । यता कञ्चनपुर, बरमझियालगायतका स्थानहरुमा समेत स्थानीयवासिन्दा तथा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेका छन् । 
यसैगरी जिल्लाको रुपनी बजारलाई समेत मधेशी मार्चाले अर्को मुख्य केन्द्र बिन्दु बनाएका छन् । मोर्चाको नगर समितिको संयोजनमा साँझ हज्जारौंको संख्यामा आमजनता राजमार्ग धर्ना बसेका छन् । मोर्चाका नेताहरु सम्मिलत रुपनी बजारमा समेत लाठी–फट्ठा जुलुस प्रदर्शन गरेको छ । चर्को नाराबाजीका साथ आन्दोलनकारीहरुको जुलुस रुपनी क्षेत्रको विभिन्न भाग परिक्रमा गरको छ ।
राजमार्ग छेकिने गरी आन्दोलनकारीहरुले धर्ना तथा प्रदर्शन जारी राखेका छन् । आवागमन अवरुद्ध गर्नका लागि आन्दोलनकारीहरु रातभरी जाग्राम बस्ने कार्यक्रम रहेको मोर्चाका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिए । यसअघिको राजमार्ग अवरुद्ध पार्ने क्रममा प्रहरीले दमन गरेर अवरोध हटाउँदै स्कर्टिङ्ग गराएर यातायातका साधनहरु गन्तब्यतर्फ पठाएका थिए । उनका अनुसार यसपटक भने व्यापक तयारीका साथ मोर्चा राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेका छन् ।
यसैगरी जिल्लाको बिसनपुर र कदमाहामा समेत सयौंको संख्यामा रहेका आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध पारेका छन् ।