• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भुइँफुट्टे संगठनलाई प्रतिआन्दोलनमा उतारेको गजेन्द्रवादीको आरोप

भुइँफुट्टे संगठनलाई प्रतिआन्दोलनमा उतारेको गजेन्द्रवादीको आरोप

राजविराज, ४ मंसिर । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकासकुमार तिवारीले मधेश आन्दोलनले उचाइ प्राप्त गर्दै जाँदा सरकारले यतिबेला सुनसरी–मोरङ तथा सर्लाही जिल्लातिर केही भुइँफुट्टे संगठनलाई प्रतिआन्दोलनमा उतारेको बताएका छन् । मधेशको भूमी मधेशी जनताको भएको भन्दै मधेश विरोधी संगठनहरूले मधेश आन्दोलनलाई समाप्त पार्न नसक्ने साश्वत सत्य मधेश आन्दोलनको विगतको सफल इतिहासबाट समेत पुष्टि भइसकेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रतिआन्दोलनकारी गतिविधिबाट उत्पन्न हुन सक्ने साम्प्रदायिक तनावले मधेशमा बस्ने गैरमधेशीलाई नै अन्ततः हानी पु¥याउने र त्यसका लागि सरकार आफै जिम्मेवार हुने तथ्य स्पष्ट रहेको अध्यक्ष तिवारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
‘वर्तमान संविधानले जोसुकै जुनसुकै प्रदेशमा बसाइसराई गर्न पाउने प्रावधान (धारा १७.२.ङ) का पछाडि रहेको सरकारको मनसुवालाई स्पष्ट पारेको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) पहिलेदेखि नै उक्त धारा खारेजीको माग गर्दै आएको छ । मधेश आन्दोलनविरुद्धको कुनै पनि प्रतिआन्दोलनकारी गतिविधि रोक्न नेपाल सरकारसँग माग गर्दै प्राकृतिक तथा ऐतिहासिक सम्पदा भएको क्षेत्रबाट मानवबस्ती हटाउन, नयाँ बसोवासमाथि रोक लगाउन र अखण्ड मधेश प्रदेशमा गैरमधेशीको बसाइसराइको ध्येयले जग्गा खरिदमाथि संवैधानिक रोक लगाउने गरी संविधानमा संशोधन गर्न माग गरेको छ ।