• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सात बुँदे निर्णय, विहानको समयमा शिक्षण संस्था चलाउन पाइने

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सात बुँदे निर्णय, विहानको समयमा शिक्षण संस्था चलाउन पाइने

राजविराज, ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विहीवार बसेको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले वर्तमान राजनीतिक परिस्थिति, जारी मधेशसहित विभिन्न आन्दोलन र वार्तालगायतका विषयहरुमा गम्भीर छलफल गरी ७ बुँदे निर्णय सार्वजनिक गरेको छ । मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलितलगायत सिमान्तकृत समुदायहरुले उठाएका मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एवम् तीन दल नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी र नेकपा एमाले गम्भीर नरहेको भन्दै जारी आन्दोलनलाई अझ सशक्त रुपले जारी राख्ने निर्णय भएको छ ।
आन्दोलनलाई थप सशक्त एवम् प्रभावकारी बनाउन यातायात, बजार, कलकारखाना बन्द गर्नुकासाथै सिमानाका र राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरियो । मंसिर ५ गतेदेखि राजमार्ग अवरुद्ध लगायतका कार्यक्रमहरुलाई निरन्तर जारी राख्ने निर्णय भएको मोर्चाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मंसिर ६ गते प्रमुख सहर बजारहरुमा मशाल जुलुस प्रदर्शन गर्ने, आन्दोलन जारी भएको १००औं दिन अर्थात मंसिर ७ गते सोमवार दिनको १ बजे वीर अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तराई मधेश लगायत देशका विभिन्न ठाउँका चौक–चौराहाहरुमा आमजनसमुदायको सहभागितामा स–परिवारसहित पाँच मिनेट मौनधारण गर्ने मोर्चाले निर्णय गरेको छ ।
विद्यालय, क्याम्पसहरुलाई विहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सुचारु गर्ने, विरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधी, अक्सिजन र स्वास्थ्य सम्वन्धि उपकरणहरुलाई दिनको समयमा मात्र बिराटनगर सिमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।