डा. केशरजङ्ग रायमाझीको धारमा उन्मुखः पासवान
राजविराज, ३ मंसिर । कम्युनिष्ट नेता रामचन्द्र झाले शोषित उत्पीडित समुदायकालागि संघर्ष गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्पीडक समुदायको पृष्ठपोषक भएको बताएका छन् ।
राजविराजमा विहीवार आयोजित स्वाधीन, समृद्ध र समावेशी नयाँ शक्ति निर्माण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । निती र सिद्धान्तलाई तिलाञ्जली दिँदै एमाओवादी पार्टीलाई शासक र शोषकवर्गको पार्टी बनाएको आरोप लगाउँदै उनले भने ‘शोषित उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउनकालागि सशस्त्र क्रान्ति गरेका प्रचण्डजी अहिले उत्पीडित हैन उत्पीडकको पृष्ठपोषक भइसक्नुभएको छ ।
सशस्त्र जनयुद्धका क्रममा मधेशी मुक्ति मोर्चासहित विभिन्न जातीय मोर्चाहरु गठन गरेर प्रचण्डले जनताको समर्थन आफ्नो पक्षमा लिएर अधिकार दिने बेलामा पछाडि हटेको नेता झाले बताए । जारी भएको संविधानमा विभेदकारी भएको भन्दै द्वन्द्वको बिजारोपण गरेर आएको संविधान खस पहाडि शासकको पक्षमा रहेको प्रष्ट्याउँदै उनले भने ‘साझा स्वामित्व बन्न नसकेको संविधान मान्य हुँदैन ।
मधेशी, थारुलगायतका उत्पीडित समुदायलाई वर्तमान संविधानले मतदाताको अधिकार दिएको तर शासन गर्ने अधिकार नदिएको उनले प्रष्ट्याए । मधेशमा जारी आन्दोलन अधिकार र पहिचानको आन्दोलन भएको बताउँदै उनले भने ‘काँग्रेस, एमाले जस्तै एमाओवादी मधेश विरोधी कित्तामा उभिएको छ, पार्टीमा हामीले बारम्बार फरक बिचारहरु राख्दा बेवास्ता भयो । बैठकमा ठोस निर्णय नहोस् यसकालागि एमाओवादी केन्द्रीय समितिको बैठक ११ महिनासम्म लम्ब्याएको उनको आरोप थियो । 
अर्का नेता रामकुमार शर्माले एमाओवादीको आन्दोलन विसर्जन र विखण्डनको अवस्थामा पुगेको बताए । मधेशका जनता जिवन–मरणको लडाई लडिरहेको अवस्थामा एमाओवादी पार्टी काँग्रेस र एमाले जस्तै सत्तामुखि भएको आरोप लगाउँदै उनले भने ‘मधेशका निहत्था जनतामाथि गोली चलाईरहँदा पनि कुर्सीमा बसिरहनुले पनि पार्टीको चरित्र छर्लङ्ग भएको छ, आफन्तजन मारिँदाको अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं ।
एमाओवादीका अर्का पूर्व नेता महेन्द्र पासवानले जनताको मुक्तिकालागि तत्कालिन माओवादीले कठोर संघर्ष गरेको चर्चा गर्दै शोषित उत्पीडित जनताले मुक्ति पाउन नसकेको बताए । ‘मुक्तिका लागि मृत्यूको बाटो रोजेर संघर्ष ग¥यौं तर अझैं शोषित उत्पीडित जनताले आफ्ना अधिकारकालागि संघर्ष गर्नुपरेको छ’ उनले भने ‘त्यतिबेला र अहिलेको प्रचण्डमा धेरै फरक छ, अहिले वहाँ डा. केशरजङ्ग रायमाझीको धारमा उन्मुख हुनुभएको छ ।
अनिल कुमार साह ‘अरुण’को अध्यक्षतामा आयोजित कार्यक्रममा एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामरिझन यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, अखिल नेपाल महिला संघ (क्रा.)कि पूर्व केन्द्रीय सचिवालय सदस्य लक्ष्मी कुमारी चौधरी, दिपनारायण साह, छेदी साफी ‘बिमल’लगायतले मन्तव्य व्यक्त गरेका छन् । सोही कार्यक्रममा सहभागी एमाओवादी समर्थित नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा समेत गरेका थिए ।
सप्तरीमा डेढ सयले गरे एमाओवादी परित्याग
राजविराज, ३ मंसिर । राजविराजमा आयोजित एक कार्यक्रमका बीच एक सय पचास जनाले एकिकृत नेकपा माओवादी परित्यागको घोषणा गर्दै समिति गठन गरेको छ ।
अरुण कुमार साह ‘अनिल’को अध्यक्षता एवम् वरिष्ठ नेता रामचन्द्र झाको प्रमुख आतिथ्य तथा नेताहरु महेन्द्र पासवान, रामकुमार शर्मा र रामरिझन यादवको विशेष उपस्थितिमा पार्टी परित्याग गर्दै ७५ सदस्यीय समिति समेत गठन गरेको छ । नयाँ शक्ति निर्माण अभियान अन्तर्गत उक्त समिति गठन गरिएको जनाइएको छ ।
संगठन परित्याग गर्नेहरुमा अरुण कुमार साह, ‘अनिल’, छेदी साफी, प्रेमनारायण यादव, चन्द्रदेव मण्डल, जयप्रकाश राउत, देवलाल माली, लक्ष्मी चौधरी, दिपनारायण साह, रामप्रसाद मण्डल, सिंहेश्वर साह, तेजनारायण यादव, मखन साह, रामअवतार यादव, राजु जयशवाल रहेका छन् । यसैगरी भुवनेश्वर पासवान, रामचन्द्र यादव, सूर्यनारायण मण्डल, राजलाल राम, प्रकाश गुप्ता, उज्जवल बिक, कमला गौतम साह, हिरु चौधरी, शम्भु चौधरी, शितल यादव, रामनारायण यादव, रामकृष्ण पासवान, जितेन्द्र यादव, सोभित साह, कपलेश्वर ठाकुरलगायतका रहेका छन् । नवगठित उक्त समितिले मधेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनमा समर्थन र सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ ।