• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुई साता वितिसक्दा पनि हत्यारा पक्राउ परेनः परिवारमा रुवाबासी

दुई साता वितिसक्दा पनि हत्यारा पक्राउ परेनः परिवारमा रुवाबासी
manoj
मृतक मनोज भनिने जितेन्द्रनारायण देव ।

राजविराज, १५ कार्तिक । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ का युवा जितेन्द्रनारायण देवको हत्या भएको दुई साता वितिसक्दा पनि अझैं हत्यारा पक्राउ पर्न सकेको छैन ।
मनोज नामले चिनिने उनकोे शव बरहीबीरपुर चौकदेखि करिब पाँच सय मिटर पश्चिम नहरमा कार्तिक ३ गने फेला परेको थियो । युनिक एजुकेसनल एकेडेमीमा डिप्लोमा इन फार्मेसी प्रथम वर्षमा अध्ययनरत ३० वर्षिय देव असोज ३० गते शनिवार करिब ४ बजेको समयमा साइकल चढेर घरबाट हिँडेका थिए । अबेर साँझसम्म पनि घर नफर्केपछि परिवारजनले उनको खोजी कार्य तीब्र पारेका थिए । हरेक दिन करिब चार–पाँच बजेतिर घुम्न बजारतर्फ निस्किने गरेका उनी घर नफर्केपछि उनका भाइ चन्द्रनारायण देवले खोजी कार्य तीब्र पार्दै स्थानीय पत्रिकामा समेत सूचना दिएका थिए । दाजुको खोजीमा व्याकुल रहेका भाइले जब कार्तिक ३ गते बिहान घटनाबारे जानकारी पाएपछि उनी आकाशबाट खसे झैं भए ।
आफन्तजनसहित हेर्न जाँदा दाजुको कान काटिएको दाहिनेतर्फ कानदेखि तलसम्म गम्भीर चोट तथा निलडाम देखिएको मृतकका भाइ चन्द्रनारायणले बताए । उनलाई निर्ममतापूर्वक मारेर नहरमा फालिएको अनुमान गरिन्छ । प्रत्येक सोमवार नहरमा पानी बन्द गर्ने गरिएका कारण पानी कम भएपछि उनको शव फेला परेको थियो । शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ । यद्यपी उक्त रिपोर्ट समेत हालसम्म सार्वजनिक हुन सकेको छैन ।
उनको विवाह गत जेठ १७ गते झापाको शिवगञ्जमा २१ वर्षिया विष्णुमाया देवसँग विवाह भएको थियो । समाज तथा साथीभाइसँग पनि अति मिल्ने तथा कुनै पनि राजनीतिक दलसँग पनि आवद्ध नरहेको अवस्थामा कसले र किन आफ्नो भाइको निर्ममतापूर्वक हत्या गरेको हो ? यसबारे केही खुल्न नसकेको भाइ चन्द्रनारायणले बताए ।
काठमाण्डौमा मास्टर इन पब्लिक एडमिनिष्ट्रेसनको अन्तिम वर्षमा अध्ययनरत चन्द्रनारायण दशैमा सम्पूर्ण परिवारजन मिलेर खुशी मनाउने सपना साँचेर असोज ३० गते घर आएका थिए । दैवको लीला, फूलपातीकै दिन विहान दाजुको हत्या गरिएको खबर आएपछि सारा परिवार रुवाबासीमा परिणत भएको उनले भावुक हुँदै बताए ।
दुई साता वितिसक्दा पनि हालसम्म दाजुको हत्यारालाई प्रहरीले पक्राउ गर्न नसेकेकोमा किरिया बसेका चन्द्रनारायण गुनासो गरे । हत्याराको खोजी तथा अनुसन्धान गर्न प्रहरीले तदारुकता नदेखाएको जानकारी दिँदै उनले भने ‘दाजु चढेको साइकलबारे पत्तो लाग्न सकेको छैन, वहाँले प्रयोग गर्ने मोबाइलको कल डिटेल्स र शवको पोटिमार्टम रिपोर्ट, सँगै अध्यनरत साथीहरुबाट समेत बुझ्दा अनुसन्धानमा केही नकेही खुल्नेमा हामी आाशावादी छौं ।’ दाजुको हत्यारालाई खोजी गरी अविलम्ब कानूनी कार्वाही गर्न उनले माग गरेका छन् । दुई दाजुभाइ र दुई दिदी–वहिनी रहेका उनको परिवारजन अझैं शोकमग्न अवस्थामा छन् । उनले भने ‘बा–आमा र बहिनीहरुलाई रोएको र भाउजुको समेत विक्षिप्त अवस्था देख्दा म आफूलाई पनि सम्हाल्न सक्दिन ।’
राजविराज–१ स्थित हटियामा मट्टीतेल व्यवसाय गरेर परिवार चलाउनुका साथै छोराछोरीलाई पढाउँदै आएको पिता शंकरलाल देवले बताए । छोराको हत्याको खबरले सम्पूर्ण परिवारमाथि बज्रपात नै भएको उनले आँखा टिलपिल पार्दै भने ‘सानो व्यवसाय गरेर गुजारा चलाउने हामीहरुमाथि कसले र किन यस्तो गरेको हो ? थाहा छैन, मेरो यतिमात्रै बिन्ति छ कि छोरा मनोजको हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कार्वाही होस् ।’
सिएन देव भनेर चिनिने मृतकका भाइ चन्द्रनाराण मधेश स्वराज अभियानका अभियन्ता हुन् ।