राजविराज, १३ कार्तिक । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाले शान्तिपूर्ण आन्दोलनबाटै मधेशी जनताले स्वायततासहितको स्वराज जित्न सकिने बताएका छन् ।
मैथिली साहित्य परिषद्ले राजविराज स्थित मैथिली भवनमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । दुई सय पचास वर्षदेखिको पहाडी राज्यसत्ताले मधेशी र थारुलाई शोषण गर्दैआएको प्रष्ट पार्दै उनले भने ‘मधेशमा जारी ऐतिहासिक आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशी र थारु समुदायले स्वायततासहितको स्वराज पाउनेछ ।
देशका पहाडी शासकहरु अढाई महिनाको शान्तिपूर्ण आन्दोलनको आवाजलाई बेवास्ता गर्दै अगाडि बढीरहेकोप्रति चिन्ता व्यक्त गर्दै दुई सय पचास वर्षको इतिहासमा नेपाल कहिले पनि अखण्ड नरहेको लेखक सङ्ग्रौलाले प्रष्ट्याए । पृथ्वीनारायण शाहले जित्नु अघि नेपाल साना–साना राज्यमा विभाजित रहेको प्रष्ट्याउँदै उनले भने ‘नेपालमा समेत केही इतिहासकारहरुले समेत भ्रम सिर्जना गरेर इतिहास लेखेको छ, एक भाषा भेषको निती लाद्ने काम शुरु भएकै दिनदेखि विभेदको बीजारोपन भएको हो ।’ मधेश आन्दोलनलाई केही तत्वहरुले विखण्डनवादी तथा दिल्लीबाट सञ्चालित रहेको भनी भ्रम छर्ने काम भइरहेकोले त्यस्ता भ्रम त्याग्नुपर्ने आवश्यकता औंल्याए ।
मधेश राजनीतिक रुपमा मात्र नभई साहित्यिक र साँस्कृतिक रुपमा पछाडि पारिएका कारण मधेशमा बोलिने मैथिली, थारु, भोजपुरी, अवधी लगायतका भाषा साहित्यको विकास हुन नसकेको उनले बताए । पहाडका राई, लिम्बु भाषा संस्कृति समेत पछाडि परे पनि वर्तमान अवस्थामा उनीहरुमा ठूलो जागरण आए पनि मैथिली भाषा साहित्यले भने हस्तक्षेपकारी ढङ्गबाट अगाडि आउन नसकेकोमा लेखक सङ्ग्रौलाले चिन्ता व्यक्त गरे । देशकै सर्वाधिक महत्व एवम् विशेष्ट पहिचान बोकेको मैथिली सभ्यताको विकासका लागि सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिए । वर्तमान संविधानमा देखिएका त्रुटीहरुलाई सुधार गरी सबैको भावना अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
विभिन्न भाषाभाषी, संस्कृति र पहिचान भएको यो देशमा तत्कालीन राजा महेन्द्रको समयमा पढाइएको महेन्द्रमालाले पहाडी शासकहरुको अभिमान गाथाले आफ्नो पनि दिमाग भरिसकेको प्रष्ट्याउँदै उनले भने ‘ नेपाली रहेर पनि मधेश विद्रोह पछि मात्र मधेशलाई नजिकबाट बुझ्न पाएँ, मधेशी र थारु समुदायलाई साँचिक्कै उत्पीडन एवम् विभेदमा पारिएको छ, उनीहरुले पनि हरेक क्षेत्र तहमा समान पहुँच र प्रतिनिधित्व खोज्नु स्वाभाविक हो । मधेशको माग सम्बोधन गर्न भइरहेको ढिलाइले गर्दा अर्को ठूलो बिद्रोहको शंकेत गरिरहेकोले राज्यपक्ष गम्भीर बन्नुपर्ने सुझाव दिए ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौला, लेखक युग पाठक र साहित्यकार रामरिझन यादवलाई मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सोही अवसरमा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन परिषद्का सचिव श्यामसुन्दर यादवले गरेका थिए ।
फोटो क्याप्सनः मैथिली साहित्य परिषद्द्वारा राजविराज स्थित मैथिली भवनमा शुक्रवार आयोजित स्वागत एवम् सम्मान कार्यक्रममा लेखक एवम् साहित्यकारद्वय खगेन्द्र संग्रोला, युग पाठकसहित अन्य अतिथि महानुभावहरु ।