Top_Header_Right_Add

सिमाङ्कनमा परिवर्तन नगरिए वार्ताकाे औचित्य समाप्त हुन्छः अध्यक्ष उपेन्द्र

सिमाङ्कनमा परिवर्तन नगरिए वार्ताकाे औचित्य समाप्त हुन्छः अध्यक्ष उपेन्द्र
2(1)
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ।

राजविराज, १२ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिमाङ्कनमा परिवर्तन गरिएन भने वार्ताको औचित्य समाप्त हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । हालसम्म राज्यपक्षले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको वार्तामा हालसम्म राज्यले नौटङ्की गरिरहेको बताउँदै सिमाङ्कन नसच्याइए वार्ताको औचित्य समाप्त हुने र कार्तिक १४ गते जनकपुरमा बस्ने मोर्चाको बैठकले आन्दोलन सशक्त कार्यक्रमहरु तय गरिने उनले प्रष्ट पारे ।
‘आन्दोलनबाट उठाएका सवाल र विगतमा भएका ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन गरेर राज्यपक्षले समस्याको निकास खोज्नुपर्दछ’ उनले भने ‘आन्दोलनलाई लम्ब्याउनु आफूहरुको रहर होइन, राज्यले सिर्जना गरेको बाध्यात्मक अवस्था हो, राज्य गम्भीर नभए यसपछि वार्ता छाडेर हामी सम्पूर्ण उर्जा सडक आन्दोलनमै लगाउन बाध्य हुनेछौं ।’ मेचीदेखि नारायणी र नारायणी पश्चिमसम्म तथा श्रोतसाधनमाथिको हक सुनिश्चित गर्नुपर्ने दावी गर्दै उक्त संरचनामा थारुहरुको समेत सम्बोधन भए सिङ्गो थरुहट मधेश प्रदेश बन्ने खुलासा समेत गरे ।
राज्यपक्षले शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गरेको प्रष्ट्याउँदै उनले आन्दोलनकारीहरुको टाउँको र छातीमा ताकीताकी गोली हानेर घोर अमानवीय चरित्र प्रस्तुत गरेको बताए । कैलालीको टिकापुरमा प्रहरीले चलाएको गोलीबाट मारिएका तथा बेपत्ता पारिएकाहरुको अवस्था     अझैं सार्वजनिक हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । केही साता अघि जनकपुरमा ठूलो संख्यामा शव फेला परेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष यादवले भने ‘जनकपुरमा फेला परेका कतिपय शव थारु अनुहारसँग मिल्दोजुल्दो छ, उक्त शवहरुको विषयमा विज्ञहरुद्वारा जाँच तथा अनुसन्धान हुनुपर्नेमा त्यसलाई समेत ढाकछोप गर्ने प्रयास भइरहेको छ ।’
चीनसँग नजिक भएर भारतलाई गाली गर्ने भारतसँग नजिक भएर चीनलाई ब्ल्याकमेलिङ्ग गर्ने प्रवृती गलत रहेको र यो प्रवृति नेपालका लागि घातक हुने फोरम अध्यक्ष यादवले बताए । चीनसँग गरिने व्यापार दिर्घकालीन नहुने प्रष्ट पार्दै उनले भने ‘नेपालको प्रोडक्ट चीनमा जाने सम्भाव्यता र सहजता छैन, व्यापार एकपक्षीय हुँदैन दोहोरो हुन्छ । तत्कालीन राजा महेन्द्रको समयमा समेत फालिएको कार्ड अहिले पनि फाल्ने काम भइरहेको भन्दै आम जनता सजग बन्नुपर्नेमा उनले जोड दिए । भारतसँगको सम्बन्ध बिगारेर नेपाललाई ठूलो क्षति हुने प्रष्ट पार्दै फोरम अध्यक्ष यादवले भने ‘नेपाललाई भारतभन्दा राम्रो सम्वन्ध विश्वका कुनै पनि देशसँग हुन सक्दैन त्यसैले समस्यालाई बल्झाउनुभन्दा पनि निकास खोज्नकालागि राज्य गम्भीर बन्नुपर्दछ ।
पत्रकार सम्मेलनमा फोरम उपाध्यक्ष एवम् पूर्व शिक्षामन्त्री रेणु कुमारी यादव, केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश यादवलगायतको समेत उपस्थिति रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer