पत्रकार साह, खड्गा र सिंहलाई मुक्तिनाथरत्न




राजविराज, ११ कार्तिक । सद्भावना पार्टीका महासचिव मनिस कुमार सुमनले देशभित्रको समस्या समाधान गरेर आपूर्तीसहज बनाउनुभन्दा चीन सामु हात फैलाएर देशमा अर्को ठूलो समस्या नित्याउन खोजेको आरोप लगाएका छन् ।
मुक्तिनाथ स्मरण स्मृतिद्वारा बुधवार राजविराजमा आयोजित मुक्तिनाथ रत्न पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मधेशी समुदायको भाषा, भेष–भुषा, संस्कृति तथा रहन–सहन भारतसँग मिल्ने गरेकोले राज्ज्यसत्ता तथा त्यसका पुष्ठपोषकहरुले भारत विरोधी नारा लगाउने प्रष्टयाउँदै उनले भने ‘ देशभित्रको समस्या समाधान नगरी भारतको विरोध गरेर चीन सामु हात फैलाउनुले देशका अर्को ठूलो समस्या निम्त्याउने निश्चित छ ।’
चीनसँग विस्तार गरिने सम्वन्ध नेपाली जनताका लागि हितकर नहुने दावी गर्दै महासचिव सुमनले देशभित्रै जारी मधेश आन्दोलनलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । सदियौंदेखि भारतसँग नेपालको मित्रवत सम्वन्ध रहँदैआएको छ, यो सम्वन्धलाई खलबलाउने कार्य कुनै पनि पक्षबाट नहोस्’ उनले भने ‘देश विषम परिस्थितिबाट गुज्रिरहेको छ, त्यसैले बाँसुरी बजाउन छाडेर समस्याको दिर्घकालीन समाधान खोज्नुपर्दछ ।’
आफ्नै देशमा अधिकारप्राप्तिका लागि मधेशमा जारी शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षले शत्रुसँग गरिने चरित्र प्रस्तुत गरेको नेता सुमनले आरोप लगाए । राज्यपक्षले मधेशको आवाजलाई सम्वोधन गर्नुको साटो बर्बर दमन गरेको प्रष्ट्याउँदै उनले भने ‘राज्यले हालसम्म ३७ जनाको ज्यान लिएको छ, दुई हजारभन्दा बढी घाइते भएको छ भने अझैं एक हजार आन्दोलनकारीको शरिरमा गोली रहेको अवस्था छ तर राज्य अझै कानमा तेल हालेर सुतेको छ । मधेशको मागलाई अझैं बेवास्ता गरिए आन्दोलनको स्वरुप थप सशक्त एवम् भयावह हुने महासचिव सुमनले चेतावनी दिए ।
समारोहमा प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुर, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादव, मुक्तिनाथ स्मरण समितिका संरक्षक हरेकृष्ण प्रसाद सिंह, सचिव माला कर्ण, कोषाध्यक्ष ध्रुव मण्डलसमेतले मन्तव्य व्यक्त गरेका छन् । समितिका अध्यक्ष मनोज कुमार माझीको अध्यक्षतामा आयोजित समारोहमा सप्तरीका वरिष्ठ पत्रकार, साहित्यकार, समाजसेवी एवम् राजनीतिज्ञ स्व. मुक्तिनाथ मण्डलको स्मृतिमा स्थापित मुक्तिनाथ पुरस्कार समेत प्रदान गरिएको छ ।
यस वर्षको ‘मुक्तिनाथरत्न पत्रकारिता पुरस्कार’ गोरखापत्रका सप्तरी समाचारदाता धीरेन्द्रप्रसाद साह र कान्तिपुर दैनिकका सप्तरी समाचारदाता जितेन्द्र खड्गालाई प्रदान गरिएको छ । यस्तै मानव अधिकार संरक्षणको क्षेत्रमा सक्रिय रहँदैआएका सेतु सामुदायिक विकास तथा मानव अधिकार संरक्षण मञ्च सप्तरीका अध्यक्ष जङ्ग वहादुर सिंहलाई ‘मुक्तिनाथरत्न मानव अधिकार तथा समाजसेवा पुरस्कारबाट सम्मानित गरेको छ । उक्त पुरस्कार २०६७ सालदेखि प्रदान गरिँदैआएको छ ।