Top_Header_Right_Add

‘सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी’

‘सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी’

फोरम लोकतान्त्रिक सप्तरीद्वारा शुभकामना आदान–प्रदान
राजविराज, ७ कार्तिक । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेताहरुले सरकारमा जानु अघि आफूहरुसँग गरिएको आठ बुँदे सम्झौता कार्यान्वयन नभए सरकारबाट फिर्ता हुने चेतावनी दिएका छन् ।
फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले शनिवार राजविराज स्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । मधेशीको माग पुरा गराउनकै लागि आफूहरु सरकारमा सहभागी भएको भन्दै मधेशी र थारुको अधिकार सुनिश्चित नभए सरकारमा बस्नुको औचित्य समेत नरहने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवं पूर्व वातावरण मन्त्री हेमराज तातेडले ८ बुँदे सम्झौता गरेर मात्रै आफूहरु सरकारमा सहभागी भएको भन्दै सम्झौता कार्यान्वयन नभए सरकार समेत छाड्नसक्ने दावी गरेका छन् । उनले भने ‘हाम्रो प्राथमिकता सरकार होइन तर बाध्यतावश मधेशी र थारुहरुको माग चाँडो सम्बोधन होस् भन्ने उद्देश्यकासाथ सरकारमा सहभागी भएका हौं, माग सम्बोधन नभए सरकारबाट समेत हामी बाहिरिन्छौं ।
कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य नारायण मेहताले आफूहरुको पार्टीको विरोधमा विभिन्न भ्रमपूर्ण टिप्पणीहरु भइरहेको भन्दै जनताकै लागि सरकारमा गएको दावी गरे । पार्टीलाई व्यापक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब आएपछि बाध्य भएर सरकारमा गएको उनले प्रष्ट्याए ।
पार्टीका केन्द्रिय सदस्य एवं पूर्व सांसद शिवनारायण रावले पार्टी सरकारमा नगएर मधेशीको माग पुरा नहुने चलखेल भइरहेको अवस्थामा बाध्य भई चौतर्फि दबाब पछि मात्र सरकारमा गएको बताए । केन्द्रिय सल्लाहकार हासिम अंसारीले मुलुक धर्मनिरपेक्ष भइसकेको अवस्थामा पनि अहिले पनि मन्त्रि परिषद्मा एकजना पनि मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराइएकोमा अक्रोस व्यक्त गरे । राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा मुस्लिम समुदायलाई अनिवार्य प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए ।
पत्रकारको व्यापक आलोचना
फोरम लोकतान्त्रिक सप्तरीका अध्यक्ष शैलेश चौधरीले अधिकांश समय पत्रकारहरुको आलोचना गर्नमै खर्चेका छन् । केही राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरुमा पार्टीका ९० प्रतिशत सदस्यले राजीनामा दिएको भनि भ्रामक समाचार सम्प्रेषण गरेको उनले बताए । पार्टीका महासचिव मृगेन्द्रकुमार सिंह यादवका अतिरीक्त पार्टीको ११ जना पदाधिकारी मध्ये उपाध्यक्षद्वय सत्यनारायण यादव र उमेश साह तथा १५ जना सदस्य र २ जना क्षेत्रीय अध्यक्षहरु मात्र राजिनामा गरेको अध्यक्ष चौधरीले प्रष्ट्याए ।
पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नै निरुत्साहित गर्ने नियतले पूर्वाग्रही ढङ्गले समाचार सम्प्रेषण भएको उनले दावी गरे । ‘उहाँहरुको औपचारीक राजिनामा भन्दा पनि हामीले मिडिया मार्फत पार्टी परित्यागको जानकारी पाए, उहाँहरु संख्यात्मक रुपमा कम भएपनि गुणात्मक रुपमा पार्टीलाई क्षति भएको छ’ उनले भने ‘केही पत्रकार तथा मिडियाहरु जातिवादको भावनाबाट प्रेरित भएको मैले महशुस गरेको छु ।’ आफू पनि लामो समयदेखि पत्रकारहरुको नजिकै रहेर काम गरेको स्मरण गर्दै अध्यक्ष चौधरीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न समेत पत्रकारहरुको ध्यानाकर्षण गराए ।
एकसाता अघि मात्र पार्टीका केन्द्रिय महासचिव मृगेन्द्रकुमार सिंह यादवले राजविराजस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको मर्म विपरीत पार्टी अध्यक्ष विजयकुमार गच्छदार एकलौटी रुपमा सरकारमा सहभागि भएको भन्दै जिल्ला कार्य समिति, क्षेत्रीय समिति र विभिन्न भातृ संगठनका ८७ जनाले पार्टी परित्याग गरेको दावी गरेका थिए ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद चौधरी, कोषाध्यक्ष बिन्दुकुमारी यादव, थारु कल्याणकारिणी सभाका रमाकान्त चौधरी, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव लगायतले शुभकामना व्यक्त गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer