भारत र तेस्रो मुलुकबाट जोगवनी नाका हुँदै पूर्वी नेपालमा सामान आयात हुन्छ। ४६ दिनदेखि यो नाकाबाट सामानको आयात–निर्यात प्रभावित छ। भारतले अघोषित नाकाबन्दी गर्नुअघिसम्म यो नाकाबाट प्रहरीको सहयोगमा समान आयात–निर्यात भइरहेको थियो। नाकाबन्दीपछि एक ट्रक पनि समान नेपाल भित्रिएको छैन। मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले ४६ दिनको बन्द र नाकाबन्दीले पूर्वी नेपालको अर्थतन्त्र थलिएको बताए। ‘भारत र तेस्रो मुलुकबाट सामान आउन सकेको छैन,’ राउतले भने, ‘बन्दले आर्थिक गतिविधि ठप्प छ।’
मोरङ व्यापार संघका अनुसार नाकाबन्दीपछि सामान बोकेको करिब हजार ट्रक, कन्टेनर र लरी जोगवनीमा रोकिएका छन्। आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आएका ७ सय मालबाहक गाडी जोगवनीमा अलपत्र छन्। भारतबाट आयात गरिएको पेट्रोलियम, ग्याँस र उद्योगका कच्चा पदार्थ बोकेका तीन सय गाडि पनि जोगवनीमै छन्। राउतका अनुसार मालबाहक एउटा गाडीको बिलम्ब शुल्क चालक र मजदुरसमेत मिलाएर दिनको चार हजार रूपैयाँ तिर्नुपर्छ। ‘तेस्रो मुलुकबाट आयात गरिएको सामानको मात्रै ४६ दिनमा १५ देखि २० करोड रुपैयाँ विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ,’ राउतले भने, ‘भारतबाट आयातित सामानको बिलम्ब शुल्क पनि १० करोड रुपैयाँभन्दा माथि पुगिसक्यो।’
मोरङ व्यापार संघका अनुसार तेस्रो मुलुक र भारतबाट आयातित वस्तुको मात्रै विलम्ब शुल्क २५ करोड रुपैयाँ पुगिसकेको छ। भारतीय रेल्वेमार्फत आयात गरिएको वस्तुको छुट्टै विलम्ब शुल्क तिर्नुपर्छ। नाकाबन्दी कै अवधिमा रेल्वेमार्फत १० र्या्क सामान आयात गरिएको छ। त्यो सबै जोगवनीको रेल्वे स्टेसनमै छ। रेल्वेबाट आयात गरिएको सामान १२ घन्टामा र्या कबाट खाली गरिसक्नुपर्छ। नत्र, बिलम्ब शुल्क लाग्छ। रेल्वेले एक घन्टाको १२ हजार रूपैयाँ विलम्ब शुल्क लिन्छन्। नाकाबन्दीले सामान रोकिँदा करिब ५ करोड रूपैयाँ विलम्ब शुल्क भारतीय रेल्वेलाई तिर्नुपर्ने भएको छ।
‘हामीले थाहा पाएअनुसार विलम्ब शुल्क बापत करिब ४ करोड रूपैयाँ भारतीय रेल्वेले पाइसकेको छ,’ वरिष्ठ उपाध्यक्ष राउतले भने, ‘रेल्वेको एउटा र्याूकमा एक सय ४० ट्रकभन्दा बढी समान हुन्छ।’ ३५ डिब्बाको मालबाहक रेललाई एक र्यााक भनिन्छ। मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बन्द र नाकाबन्दीले सामान रोकिँदा उद्योगी–व्यवसायीलाई तनाव भएको बताए। ‘एउटा गाडीको लाख रुपैयाँभन्दा बढी विलम्ब शुल्क भइसक्यो,’ सारडाले नागरिकसँग भने, ‘सरकारले उद्योगी–व्यवसायीको समस्या नसुने झैं गरिरहेको छ।’ सारडाका अनुसार यसअघि कोलकाता बन्दरगाहबाट समान लिएर आउने मालबाहक गाडीले दिनको दुई हजार रुपैयाँ भाडा लिन्थ्यो भने अहिले ३५ सय र चार हजारसम्म तिर्नुपरिरहेको छ।
कोलकाता बन्दरगाहबाट सामान बोकेर आउने गाडीलाई उद्योगसम्म समान अनलोड गरेर फर्किने म्याद १४ दिन हुन्छ। त्यसपछि समान बोकेको अवस्थामा ‘जुनसुकै’ कारणले ढिलाई भए त्यसको बिलम्ब शुल्क तिर्नुपर्छ। जोगवनी नाकाबाट भारत र तेस्रो मुलुकबाट उद्योगको कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, खाध्यान्न र व्यवसायिक वस्तुको आयात गरिन्छ। यही नाकाबाट भारत तथा तेस्रो मुलुक नेपालबाट जुटजन्य वस्तु, प्लास्टिक, आयरन स्टील, पाइप, चाउचाउ, चिया, कफि, अमि्रसो र अलैची निर्यात हुन्छ। भारत तथा तेस्रो मुलुकबाट आयात गरिने समान प्रतितपत्र(एलसी) मार्फत झिकाइन्छ। ‘लामो समय सामान नाकामै रोकिदा बैंकको दायित्व पनि बढेको छ,’ संघका बरिष्ठ उपाध्यक्ष राउतले भने, ‘करिव ४० अर्व रुपैयाँ वरावरको सामान जोगवनी नाकामा अलपत्र परेको छ।’
महाभुकम्पपछि तातोपानी नाका बन्द हुँदा चिनबाट आयात गरिने समान समेत जोगवनी नाकाबाटै नेपाल आइरहेको थियो। चाइनिज कपडा, फलफुल, प्याज र लहसुन जोगवनी नाकाबाटै आइरहेको थियो। चिनबाट आयात गरिएको सामान पनि जोगवनी नाकामा रोकिएको छ। उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले लामो बन्द र नाकाबन्दीले उद्योगी–व्यवसायीहरु चर्को अतिरिक्त शुल्क तिर्न बाध्य रहेको बताए। ‘लामो समयदेखि समान जोगवनीमै रोकिएको छ,’ उनले भने, ‘समानको सुरक्षा छैन, लामो समय रोकिदा खेर जाने समान पनि छ।’
आयात–निर्यातबाट विराटनगर भन्सार कार्यालयले दैनिक पाँच करोड ३० लाख रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखेको छ। नाकाबन्दीपछि विराटनगर भन्सारले आयात–निर्यातबाट एक रुपैयाँ पनि आम्दानी गरेको छैन्। भदौंमा विराटनगर भन्सार कार्यालयले एक अर्ब २६ करोड रुपैयाँ राजस्व असुलेको थियो। त्यो महिनाको लक्ष्य भने एक अर्व ७२ करोड रुपैयाँ थियो। साउनमा एक अर्व ७३ करोड ३४ लाख रुपैयाँ राजस्व असुलेको छ। असोजमै नाकाबन्दी हुनुअघि विराटनगर भन्सार कार्यालयले आयात–निर्यातबाट २६ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ।
देशभरको भन्सार नाकाबाट भदौं महिनामा १७ अर्व २० करोड रूपैयाँ राजस्व असुलि गर्ने लक्ष्य थियो। जसमा ११ अर्व २० करोड रुपैयाँ मात्र असुलि भएको थियो। असोजमा १५ अर्व २० करोड रुपैयाँ राजस्व असुलिको लक्ष्य रहेकोमा अहिलेसम्म(१३ गतेसम्म) दुई अर्व ५२ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ। बन्द र नाकाबन्दीले राजस्व असुलि प्रभावित भएको भन्सारका अधिकारीहरुको भनाई छ। आर्थिक वर्ष ०७१/७२ मा भारतसंग ४ खर्ब ४२ अर्व रुपैयाँको व्यापार घाटा नेपालले ब्यहोरिसकेको छ। आव ०७१/७२ मा ४३ अर्वको अटोमोवाइलको सामान मात्रै नेपाल भित्रिएको छ।नागरिक न्युज