• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धर्नारहित नाका पनि ठप्प

झापा- नेपालविरुद्ध अघोषित नाकाबन्दी लगाएपछि भारतीय राजदूत रन्जित रेले पटक–पटक सार्वजनिक प्रस्टीकरण दिँदै आएका छन्, ‘भारतले नाकाबन्दी लगाएको छैन। नेपाली नाकामा भएका प्रदर्शन र असुरक्षाले सामान रोकिएको हो।’ तर, भारतीय संस्थापनको यस्तो दाबी गलत रहेको प्रमाण नाकाहरूमा प्रस्टै देखिन्छ।
संविधान जारी भएपछिको अवधिमा एकै दिन पनि प्रदर्शन वा अवरोध नभएका नाकामा पनि भारतले ‘असुरक्षा’ व्याप्त रहेको मनचिन्ते त्रास देखाएर अवरोध गरिरहेको छ। नयाँ संविधान जारी भएलगत्तै भारतीय पक्षले असन्तोष जनाउँदै नाकामा गर्न कडाइ थालेपछि पूर्वी नाका काँकडभिट्टामार्फत हुने कारोबार ठप्प छ।

पानीट्यांकी नाकामा भारतीय सुरक्षा बलले सयौं साधन जबर्जस्ती रोकेर राखेको छ। जबकि, भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने सवारी साधन रोकिने गरी र ती साधन असुरक्षित हुने गरी यहाँ अहिलेसम्म प्रदर्शन भएकै छैन। विराटनगर, जनकपुर र वीरगन्ज नाकामा मात्रै सीमित विपक्षी मोर्चाको प्रदर्शनलाई लिएर भारतीय पक्षले सबै नाकामा समान व्यवहार गरिरहेको छ। केही नाकामा भएको अवरोधलाई आधार मानेर अवरोधविहीन नाकामार्फतको कारोबार पनि रोक्ने भारतीय कदम जायज नभएको नेपाली व्यवसायीको भनाइ छ।

‘काँकडभिट्टा, महेन्द्रनगर, रूपैडिहा, नेपालगन्ज, भैरहवा कतै पनि प्रदर्शन वा आन्दोलनकारीको अवरोध छैन,’ निर्यात व्यापारमा संलग्न व्यवसायी सुनील मित्तलले भने, ‘जम्मा दुई ठाउँमा भएको अवरोधलाई सबैतिर छ भन्ने भारतीय दाबी हावादारी छ।’

भारतीय पक्षले नियत राखेरै नाकाबन्दी गरेको बताउने उनले पूर्वी नाकाबाट मालवाहक गाडी नपठाउनुको कारण पुष्टि गर्न भारतीय पक्षलाई चुनौती पनि दिए। ‘यो सातामा कुन दिन काँकडभिट्टा नाकामा प्रदर्शन वा अवरोध भयो, भारतीय पक्षले भन्न सक्छ?’ उनले भने, ‘यो नियोजित नाकाबन्दी हो।’

आन्दोलनरत मधेसी मोर्चाका नेता उपेन्द्र यादवले पनि सार्वजनिक रूपमै नाकाबन्दी भारतले नभई आफूहरूले लगाएको बताउँदै आएका छन्। उनले केही दिनअघि यस्तो अन्तर्वार्ता सञ्चारमाध्यमलाई दिइरहँदासम्म पनि मोर्चा वा अरू कुनै संगठनले काँकरभिट्टा नाकामा प्रदर्शन गरेको थिएन। ‘हामीलाई अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ झापाका मधेसी मोर्चाका नेता सूर्यनारायण गणेशले सञ्चारमाध्यमसँग भनेका थिए। तर, आन्दोलनकारी शक्तिले यसो भनिरहँदा पनि भारतीय अवरोधचाहिँ जारी थियो, छ। ‘यो नियोजित हो भन्ने त पुष्टि नै भइसकेको छ,’ झापाका एक सुरक्षा अधिकारी भन्छन्, ‘यता सुरक्षा व्यवस्था कस्तो छ भन्ने जिम्मा हाम्रो हो, भारतीय सुरक्षा बलको होइन।’

त्यसो त नेपाली नाकामा ‘प्रदर्शन र अवरोध भएका कारण मालवाहक साधन पठाउन नसकिएको वा चालकहरू नमानेको’ दाबी गरिरहेको भारतीय पक्षले आफ्नो बोलीको आफ्नै व्यवहारले खण्डन गरिरहेको छ। किनभने, नेपाली बजारमा अत्यावश्यक रहेको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासका साधन भारतीय सुरक्षा बलले छानी–छानी रोकेको छ। तर, कोदो, क्लिंकर, आलु, प्याजजस्ता तत्कालै नभए पनि फरक नपर्नेखालका सामानचाहिँ दिनैपिच्छे पठाइरहेको छ।

बुधबार पनि दर्जन हाराहारीमा यस्ता सामान बोकेका साधन भारतबाट पूर्वी नाकामा भित्रिएका छन्। ‘यता अवरोध र प्रदर्शन हुँदा ती गाडीचाहिँ कसरी नेपाल भित्रिन सके त?,’ मेची उद्योग वाणिज्य संघका कार्यकारी सदस्य चेतराज विष्ट भन्छन्, ‘तत्कालै चाहिएको सामान जसरी पनि रोक्ने, तत्कालै नभए पनि हुने सामानचाहिँ पठाइहाल्ने भारतीय व्यवहारले कुरा के हो भन्ने छर्लंग हुन्छ।’

उनले भने जसरी नै भारतीय पक्ष पछिल्लो समयमा ‘नियतपूर्वक अवरोध’ मा लागेको थप प्रमाण पनि सतहमा आएका छन्। नाकाहरूमा आफूले अवरोध नगरेको र यस्तो अवस्था लामो नजाने बताइरहेको भारतीय संस्थापनको भनाइविपरीत सीमाक्षेत्रमा उसको सुरक्षा अंग नेपालीप्रति थप कठोर बन्दै गएको छ। साताभन्दा लामो समयदेखि अघोषित नाकाबन्दी गरेर नेपालीलाई सास्ती दिइरहेको भारतीय सुरक्षा बल एसएसबीले बाइकमा तेल भर्न जाने नेपालीलाई तेल नदिन त्यहाँका पम्पहरूलाई निर्देशन दिएको छ।

नाकाबन्दीले पेट्रोलियम पदार्थ आउन ठप्प भएपछि झापालगायत सीमावर्ती क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन्। यस्तोमा बाइक चलाउने भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, बिहारको गलगलियालगायत क्षेत्रमा रहेका पम्पमा गएर तेल भर्दै आएका थिए। यसअघिका हड्तालमा पनि सीमा क्षेत्रका सवारी चालकले यसै गर्थे। तर, मंगलबारदेखि एसएसबीको निर्देशनमा भारतीय पेट्रोलपम्प सञ्चालकले नेपालीलाई तेल दिन रोकेका छन्। त्यो पनि बन्द भएको छ। ‘नेपाली नम्बर प्लेटका बाइक र गाडीलाई तेल नदिनू भनेर एसएसबीले भनेका छन्,’ एक पेट्रोल पम्प सञ्चालकले भने, ‘त्यही भएर हामीले तेल दिन बन्द गरेका छौं।’

भारतीय पेट्रोल पम्पमा तेल पाइने आशामा टाढा–टाढादेखि पुगेका नेपाली तेल नपाएपछि रित्तै फर्केका छन्। बुधबार बिहानमात्रै सयौं बाइक तेल नपाएर फर्केका छन्। ‘अरू बेला भारतीय पम्पहरूमा सजिलै तेल पाइन्थ्यो,’ झापा सुरुंगाका प्रेम खत्रीले भने, ‘यसपटक तेल दिएनन्। उल्टै, नेपाली नम्बर प्लेटका साधनलाई हामी तेल दिँदैनौं, अरूलाई पनि भनिदिनू भनेर पो सम्झाए।’ नागरिक न्यूज