बोधराज सुवेदी/महुली, २१ असार । सप्तरीको महुलीमा बुधवार आयोजित एक समारोहका बीच महुली सामुदायिक लघुवित्त वित्तिय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्नुको साथै विभिन्न नीतिगत निर्णयहरु गर्न र आगामी वर्षकोलागि भावी कार्यक्रमहरु तर्जुमा गर्ने उद्देश्यले सो साधारण सभाको आयोजना गरिएको हो । साधारण सभाले संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीद्वारा प्रस्तुत आ.व. ०७२/०७३ को आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आ.व. ०७३÷०७४ को कारोवारको लेखा परीक्षण गर्न एक योग्यता पुगेको लेखा परीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साधारण सभाले आगामी वर्षकोलागि वार्षिक वजेट तथा कार्यक्रमहरु समेटिएको वार्षिक कार्ययोजनालाई अनुमोदन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले जानकारी दिएका छन् ।
संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्नु परेमा नियमनकारी निकायको परामर्शमा संसोधन गर्ने गरी सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरेको छ । साधारण सभाले २५ प्रतिशत वोनस र १० प्रतिशत नगद गरी जम्मा ३५ प्रतिसतको लाभांस कोषको व्यवस्था गर्ने समेत निर्णय गरेको छ।
कार्यक्रममा संस्थाका सञ्चालकहरु हरिश्चन्द्र सिन्हा, लक्ष्मी प्र. चौधरी, भानुभक्त निरौला,रोशन कुमार मण्डर,विजुली प्रसाद चौधरी लगायतले संस्थाको समुदायप्रतिको उत्तरदायित्व, र चुनौतीहरुको विषयमा चर्चा गरे । सुचना अधिकृत चन्द्र नारायण चौधरीले सञ्चालन गरेको सो साधारण सभामा प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले स्वागत मन्तब्य ब्यक्त गरे ।