राजविराज, १५ भदौ । विभिन्न समस्याका बावजुद पनि सप्तरीको मलेकपुर गाउँ विकास समिति स्थित जनता उच्च माध्यमिक विद्यालय खुरहुरिया जिल्लामा मात्र नभई पुर्वाञ्चलमै पहिचान बनाउँदै गएको छ ।
वि.सं. २०१६ सालमा फुसको झुप्रोबाट पठन–पाठन थालिएको उक्त विद्यालयले निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहको पठन–पाठन सञ्चालन गर्न सफल भएको छ । यसैवर्षदेखि उच्च मावि र प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत कम्प्युटर विज्ञान विषयमा चार वर्षे डिप्लोमा पठन–पाठन समेत सञ्चालन गरेको छ । उच्च माध्यमिकतर्फ शिक्षा, वाणिज्य र विज्ञानको अनुमति पाएको छ तर यसवर्ष भने समय अभावले शिक्षा संकायको कक्षा मात्र सञ्चालन गर्न भ्याएको छ ।
भौतिक पूर्वाधार र दरबन्दी अनुसारको शिक्षक अभावको मार खेप्दै आए पनि उक्त विद्यालयले यस वर्ष सामुदायिक विद्यालयतर्फ एसएलसी परीक्षामा पुर्वाञ्चलमै सर्वोत्कुृष्ट स्थान ओगट्न सफल भएको छ । यतिमात्र होइन, विगत तीन वर्षदेखि सप्तरी जिल्लामा उत्कृष्ट स्थान कायम राख्दैआएको विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले जानकारी दिए ।
जिल्लामै अत्यधिक १ हजार ४ सय ५७ छात्रछात्रा अध्ययनरत उक्त विद्यालयमा माध्यमिक तह अर्थात कक्षा ९ मा २ सय ७५ र १० मा २ सय ६२ गरी ५ सय ३७ जना छात्रछात्राहरु अध्ययनरत छन् । प्राथमिक तह ७, निम्न माध्यमिक तह ५ र माध्यमिक तहमा ३ जना गरी १५ जना मात्र दरबन्दी शिक्षक रहेको छ । विद्यार्थीको चापको अनुपातमा कुल ११ जना माध्यमिक तहमा शिक्षक हुनुपर्ने हो तर प्रधानाध्यापक सहित तीन जनाले धान्नुपरेको छ ।
विद्यार्थीको अनुपातमा दरबन्दी शिक्षकको अभाव छ तर चाहेर पनि कक्षा ९ र १० मा सेक्सन विभाजन गर्न नसकिएको प्रधानाध्यापक यादवले बताए । विद्यार्थीहरुको पठन–पाठन प्रभावित नहोस् भन्ने उद्देश्यले उपलब्ध शिक्षकहरुबाट काम चलाउँदैआएको उनले जानकारी दिए ।
विद्यालयको नाममा कुल ४ बिघा १८ धुर जग्गा रहेको जानकारी दिँदै उनले भने ‘अधिकांश जग्गा सट्टा भर्नामै दिईएको छ भने बाँकी रहेको जग्गाबाट वार्षिक १७–१८ हजार मात्र आउँछ, त्यसैबाट वर्षभरी धान्नुपरेको छ । स्थापनाकालदेखि ग्रामिण भेगमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उक्त विद्यालय उपेक्षित रहँदैआएको छ ।
त्यसक्षेत्रको मलेकपुर, खुरहुरिया, बाजितपुर, धौनकी, अण्डीपट्टी, सिंगियोन, सिम्राहा, मुसहर्निया, बेल्हा, जमुनी, थल्ही, पर्साही, कटबी, छपकी, भथौल, लक्ष्मीपुरलगायतका गाउँका छात्रछात्राहरु जनता माध्यमिक विद्यालयमा अध्ययनरत छन् । विगत तीन वर्षयता विभिन्न समस्याका चाङ्गहरुलाई छिचोल्दै जिल्लामै नमूना विद्यालयको रुपमा स्थान बनाउँदै गएको छ । विद्यालयको खेल मैदान सानो भएको तथा जग्गादाताबाट विद्यालयको नाममा हालसम्म नामसारी हुन नसक्दा सहयोग अनुदानबाट बञ्चित हुनुपरेको प्रअ यादवले पीडा सुनाए । हाल विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाको अति अभाव रहेकोले सहयोगकालागि सम्वन्धित निकायसँग विद्यार्थीहरुले आग्रह गरेका छन् ।
यसै वर्षदेखि उच्च मावि र प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत कम्प्युटर विज्ञान विषयमा चार वर्षे डिप्लोमा पठन–पाठन शुरु हुनु अभिभावकहरुकालागि खुशीको कुरा भएको खुरहुरियाका तारकेश्वर यादवले बताए । ‘कक्षा १० उतीर्ण गरेपछि छोराहरु उच्च शिक्षा अध्ययन गर्न बाहिर जान्थे भने अधिकांश छोरीहरु पढ्नबाट बञ्चित हुनपर्ने अवस्था थियो तर यो अवस्था अहिले टरेर गएको छ’ उनले भने ‘घरकै नुन रोटी खाएर पनि १२ कक्षासम्म पढ्न पाउने अवसर जुटेको छ, यति मात्र होइन, कक्षा ८ उतीर्ण गरेकी छोरीहरुले चार वर्षमै कम्प्युटर ओभरसियर बन्न पाउनु हाम्रालागि खुशीको कुरा हो ।
यस विद्यालयबाट अध्ययन गरेका छात्रछात्रा विभिन्न क्षेत्रमा विशिष्ट तहसम्म पुगिसकेका छन् ।