• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बिराटनगर, ११ भदौ । मोरङको पथरी शनिश्चरे–१ का २५ वर्षिय गोविन्द दर्नालको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गत बुधवार विहान पथरी शनिश्चरे–८ स्थित जङा धार्मिक सामुदायिक वनभित्र धारिलो हतियारले प्रहार गरी हत्या गरेर फालेको अवस्थामा दर्नालको शव भेटिएको थियो । दर्नालको हत्याका मुख्य योजनाकार पथरी शनिश्चरे–१ का २७ वर्षिय झाँकी भन्ने विजय तामाङ र उनका सहयोगी सोही ठाउँका १८ वर्षिय एलेक्स नेपाली तथा २१ वर्षिय किरण गुरुङलाई प्रहरी पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ । गोविन्दको हत्या रिसिईवी साँध्नकालागी योजनाबद्ध तरिकाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
मृतक गोविन्द र विजय तामाङवीच केही दिन अघि वाद–विवाद भई कुटपीट भएको र सोही रिसिइवी साध्न विजयले भदौ ७ गते राती गोविन्दलाई श्री जंघा सामुदायिक वनमा बोलाई पूर्व योजना अनुसार हत्या गरेको खुलेको छ । तामाङले सो कामकालागी एलेक्सलाई परिचालन गरेको र सो वापत एलेक्सलाई पन्ध्र सय रुपैया दिएर गोविन्दलाई शरणार्थी शिविरभित्र रहेको भट्टीमा लगेर रक्सी खुवाउन लगाएका थिए ।
घटना भएको दिन भाद्र ७ गते राती एलेक्स र गोविन्दले भट्टीमा बसेर संगै रक्सी खाएका र सो पश्चात एलेक्सले गोविन्दलाई वनमा दुईवटी केटी बोलाएको छु रमाईलो गर्नु पर्छ जाँउ भनि वनमा लगेर तीनै जना मिलेर हत्या गरेका थिए । वनमा एलेक्स र गोविन्द पुग्नासाथ झाडीमा लुकेर बसेका विजय र किरणले पछाडीबाट दर्नाललाई खुकुरीले प्रहार गरेका थिए । त्यसपश्चात गोविन्दको शरीरमा यत्रतत्र प्रहार गरी उनको शवलाई झाडीमा फ्याँकेर तीनै जना फरार भएका थिए ।
प्रहरीले एलेक्स र किरणलाई उनीहरुको घरबाट पक्राउ गरेको हो भने विजय तामाङ भाद्र १० गते झापा जिल्लाको केर्खाबाट पक्राउ परेका हुन् । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरी(शनिश्चरेमै दुई साता अघि हत्या गरिएका पथरी–शनिश्चरे–१० का कल्पना परियार र समिक्षा कार्कीको हत्यामा संलग्न दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
परियारको साउन २९ गते उनकै श्रीमान विनोद परियारले कैचीले गर्दनमा प्रहार गरी हत्या गरेका थिए भने कार्कीको साउन ३२ गते घरमै बसेको अवस्थामा सोही ठाउँका दिलीप भन्ने मान वहादुर विश्वकर्माले चक्कुले प्रहार गरी हत्या गरेका थिए ।